२०८१ चैत्र ९ गते शनिवार

तुलसीपुरको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो तुलसीपुर’ तयार

तुलसीपुुर, ९ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पारेको छ । तुलसीपुर उपमहानगरपालिकाले प्रकाशनमा ल्याएको हाम्रो तुलसीपुर पाठ्यपुस्तक अब विद्यार्थीहरुको हातहातमा पुग्ने भएको छ ।

हाम्रो तुलसीपुरको नगरप्रमुख टीकाराम खड्काले मंगलबार विमोचन गर्नुभएको हो । कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम गतवर्ष नै तयार पारेको थियो । कक्षा चारदेखि आठसम्मका लागि पाठ्यपुस्तक तयार पारिएको हो । कक्षा ४,५,६,७ र ८ कक्षाको पाठ्यपुस्तक विमोचन गरेको हो ।

नगरप्रमुख टीकाराम खड्काले विद्यालयमा पुग्दा शिक्षक र विद्यार्थीबाट पाठ्यपुस्तक माग भएपछि पाठ्यपुस्तक तयार पारिएको बताउनुभयो ।नगरप्रमुख खड्काले विद्यार्थीहरुलाई स्थानीयताको अपनत्व,परिचय,विषयगत जानकारी प्रदान गर्दै सिकाइ उपलब्धि हासिल गराउनका लागि पाठ्यपुस्तकलाई प्राथमिकतामा राखेर प्रकाशन गरिएको बताउनुभयो ।

नगरप्रमुख खड्काले स्थानीय पाठ्यक्रममा विद्यार्थीमा नैतिकता,अनुशासन दिलाउनका लागि योग,नैतिक शिक्षाको विषयवस्तु समावेश गरिएको बताउनुभयो । उपप्रमुख स्यानी चौधरीले शिक्षाको सुधार र सिकाई उपलब्धि हासिल गर्नका लागि स्थानीय पाठ्यपुस्तकको महत्वपूणर् भूमिका रहने बताउनुभयो । उहाँले पाठ्यपुस्तक कार्यान्वयनमा शिक्षक शिक्षिकाको महत्वपूणर् भूमिका रहने बताउनुभयो ।

शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख चक्रबहादुर भण्डारीले स्थानीय भाषा,संस्कृति,कला,पर्यापर्यटन,जैविक विविधता,पेशा,व्यवसायलाई समेटिएर पाठ्यपुस्तक तयार पारिएको बताउनुभयो ।

उहाँले पाठ्यक्रमबाट मात्रै विद्यार्थीहरुमा सिकाइ उपलब्धि हासिल गराउनका लागि विषयगत जटिलता देखिएपछि पाठ्यपुस्तक तयार पारिएको बताउनुभयो । शाखा प्रमुख भण्डारीले मुद्रण गरिएकाले पाठ्यपुस्तक तत्कालै विद्यार्थीसमक्ष पुर्‍याइने बताउनुभयो । उहाँले आगामी शैक्षिण सत्रमा कक्षा एकदेखि तीनसम्मको पाठ्यपुस्तक प्रकाशन गरिने बताउनुभयो ।

पाठ्यपुस्तक सम्पादनमण्डलका सदस्य उपप्राध्यापक महेन्द्र भण्डारीले छोटो समयमै पाठ्यपुस्तक तयार पार्दा स्थानीयस्तरमा रहेका सूचनाको प्राप्त गर्न नसक्दा केही त्रुटि रहने भएकाले पाठ्यपुस्तक पढेर सुझाव दिन आग्रह गर्नुभयो ।

स्थानीय पाठ्यपुस्तक तयार कार्यदलका सदस्य डिल्ली अधिकारीले स्थानीय पाठ्यक्रममै आधारित रहेर पाठ्यपुस्तक तयार पारिएको बताउनुभयो । उहाँले पाठ्यपुस्तकलाई व्यवहारिक र ज्ञानमुलक बनाउने गरी तयार पारिएको बताउनुभयो ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विषयका बारेमा जानकारी शाखा प्रमुख चक्रबहादुर भण्डारीले गराउनुभएको थियो भने सञ्चालन मानबहादुर खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस