२०८१ माघ ६ गते आइतवार

महिला तथा बालिकामाथि हुने अपराध न्यूनीकरणमा सरोकारवालाको चासो

तुलसीपुर, ८ साउन । महिला तथा बालबालिकामाथि हुने अपराध अन्त्यका लागि सरोकारवालाले चासो देखाएका छन् । समाजमा पछिल्लो समय महिला तथा बालबालिका हुने अपराधका घटना बढ्दै गएको भन्दै सरोकारवालाले अपराध न्यूनिकरणमा चासो देखाएका हुन् ।

तुलसीपुर उपमहागरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा भएको महिला तथा बालबालिका सुरक्षा विषयक अन्तरक्रियामा सरोकारवालाले तुलसीपुरमा पछिल्लो समय भएको ११ वर्षिय बालिकादेखि ७३ वर्षिय आमाको बलत्कारमा संलग्नलाई हदैसम्मको कार्बाहीको माग समेत गरेका छन् ।

पछिल्लो समय तुलसीपुरमा भएको अपराधको घटनालाई तुलसीपुरलाई लज्जित बनाएको भन्दै आगामी दिनमा फेरि यस्ता किसिमका घटना हुन नदिन सबै चनाखो बन्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले अपराध न्युनिकरणका लागि सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले तुलसीपुरमा पछिल्लो समय भएका बलत्कारजस्ता अपराधप्रति दुख व्यक्त गर्दै शान्ति सुरक्षाका लागि प्रहरीलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले कानुनी सचेतना गाउँगाउँमा फैलाउनुपर्ने बताउनुभयो । इलाका प्रहरी कार्यालयबाट १ वर्षमा करिब ६० वटा मुद्दा दर्ता भएको उहाँले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का सदस्य तथा न्यायीक समिति सदस्य लालमती भण्डारीले लागुऔषधको बढ्दो प्रयोगले पनि अपराधका घटना बढाएको बताउनुभयो ।

महिला अधिकारकर्मी शुष्मा गिरीले राज्यले मानविय विकासलाई कम प्राथमिकता दिएको बताउनुभयो । दाङका दश वटै पालिकामा बजेटलाई अध्ययन गर्दा स्थानीय सरकारले पनि भौतिक विकासलाई मात्रै प्राथमिकता दिएको देखिएको उहाँले बताउनुभयो ।

अर्का महिला अधिकारकर्मी युवा कराराले कानुनी ज्ञानको अभावले पनि धेरै हिंसाका घटना हुने गरेको बताउनुभयो । त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले समाजमा गलत प्रवृतिले कमाउने धन्दाकै कारण मौलाउँदा अपराध बढेको बताउनुभयो ।

उहाँले केही दिनअघि बसपार्क भित्रै भएको घटनाले आफूलाई दुःखी बनाएको बताउनुभयो । मानवअधिकारकर्मी शुसिल बस्नेतले समुदाय सचेत भएमा मात्रै पनि अपराधका घटना धेरैमात्रामा कमि आउने बताउनुभयो ।

तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले होटेल व्यवसायमा हुने विकृति अन्त्यका लागि व्यवसायी सचेत रहेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बाल अधिकारकर्मी नवराज लामीछाने, महिला हिंसा न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको थर्ड आइ नेपालका अध्यक्ष बसन्त गिरी, ओरेक दाङका पूजा चौधरी लगायतले समाजमा हुने अपराध न्यूनिकरणमा सबैको भूमिका महत्वपूणर् रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस