रोल्पा, २ साउन । रोल्पामा जंगली च्याउ खाएर थप एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी परेकी लुङ्ग्री गाउँपालिका ५ बुझिङकी रोशनी विकको उपचारको क्रममा मुत्यु भएको हो ।
उहाँको मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
गत असार २६ गते जंगली च्याउ खाँदा बुझिङका २६ वर्षीय बिमला विक, सात वर्षीया रोशनी विक, २४ वर्षीय दिलमाया विक, ६ वर्षीय आकृति विक र २३ वर्षीय ऋतु विक बिरामी भएका थिए ।
बिरामी भएपछि उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल बुटवल रिफर गरिएको थियो । त्यसपछि उनीहरू पैसा व्यवस्था गरेर उपचार गराउन जाने भनी घर फर्किएका थिए ।
स्वास्थ्यमा पुनः जटिल समस्या देखिएपश्चात बिमला विक, रोशनी विक, दिलमाया विक र आकृति विकलाई ३१ गते लुम्बिनी सिटी हस्पिटल बुटवल रुपन्देही लगिएको थियो ।
उपचारको क्रममा साउन १ गते रोशनीलाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको थियो । भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा रोशनीको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।
अन्य तीनजनामध्ये बिमला विकको आईसीयूमा र आकृति विक, दिलमाया विकको लुम्बिनी सिटी हस्पिटल बुटवलको इमर्जेन्सी वार्डमा उपचार भइरहेको रोल्पा प्रहरीले जनाएको छ । गत असार ३१ मा लुंग्री-५ कालापोखराका तीन जनाको जंगली च्याउ खाएकै कारण मृत्यु भएको थियो ।