२०८१ माघ ६ गते आइतवार

रोल्पाको होलेरीमा कृषि हाटबजार संचालन

रोल्पा, ३१ असार । रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरीमा हाटबजार संञ्चालनमा आएको छ ।

हाटबजारको गाउँपालिका अध्यक्ष जनक पुनले उद्घाटन गर्नुभएको हो । हाटबजारको उद्घाटन गर्दै अध्यक्ष पुनले गाउँपालिकामात्रै नभएर छिमेकी पालिकामा उत्पादन भएको कृषिजन्य वस्तुको बजारीकरणमा सहजता ल्याउन हाटबजार संचालन गरिएको बताउनुभयो ।

उहाँले हाटबजारमा किसानले कृषिजन्य वस्तुको उचित मूल्य पाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले हाटबजार नियमितरुपमा संचालन हुने बताउनुभयो । रुण्टीगढी गाउँपालिकाको १० लाख, समुन्ती परियोजनाको १० लाख , रुडास नेपाल गोल-२ परियोजनाको ८ लाख , रुडास नेपाल प्रक्याव परियोजनाको ३ लाख र जनश्रमदान ३ लाख ९९ हजार गरि ३४ लाख ९९ हजार लागतमा हाटबजार संचालनमा आएको हो ।

हाटबजार समितिका अध्यक्ष चन्द्र महराको अध्यक्षता तथा रुण्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यतामा हाटबजारको उद्घाटन गरिएको हो ।

त्यस अवसरमा किसानले हाटबजार निरन्तर संञ्चालन गर्न अनुरोध गर्दै विगत झै अल्पत्र नबनाउन हाटबजार समितिलाई अनुरोध गरेका छन् ।

हाटबजार संञ्चालन समितिका अध्यक्ष महराले जे—जस्तो भएपनि हाटबजार संञ्चालन गर्न सफल भएको भन्दै हाटबजार संञ्चालन गर्दा सहयोग गर्न सम्पुणर्लाई धन्यवाद दिनुभयो ।

हाटबजार हप्ताको दुई दिन शनिवार र मङ्गलबार लाग्ने जानकारी दिनुभयो । कृषकहरु हाटबजार संञ्चालमा आएपछि भने खुशि भएका छन् ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस