२०८१ कार्तिक ३० गते शुक्रवार

प्रतिष्ठानमा बालक मृत्यु प्रकरण : वार्ता निष्कर्षविहिन

दाङ, २९ असार । उपचारका क्रममा बालकको मृत्यु भएपछि मृतकका आफन्तले घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको काउन्टरमा धर्ना दिदा स्वास्थ्य सेवा ठप्प भएको छ ।

बिहीवार उपचारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्वर ३ निवासी ११ बर्षीय आक्रोश नेपालीको प्रतिष्ठानमा मृत्यु भएको थियो ।

नेपालीको मृत्यु एमआरआई गर्ने क्रममा डाक्टर र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारण भएको भन्दै मृतकका आफन्तहरु घट्नाको सत्यतथ्य छानविन गर्नुपर्ने, दोषीलाई कारबाहीसँगै क्षतीपूर्तीको माग गर्दै शुक्रवार प्रतिष्ठानमा धर्नासँगै नारावाजी गरेका हुन ।

सामान्य अवस्थाको विरामी अस्पतालको गम्भीर लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तहरुले सुरुमा प्रतिष्ठानको काउन्टरमा धर्ना दिएका थिए ।

अस्पताल परिसरभित्रै आन्दोलन गर्दा स्वास्थ्य सेवा प्रभावित हुने र प्रतिष्ठानमा उपचारत विरामीहरुमा असर पर्ने भन्दै प्रहरीले गेट बाहिर हटाएको थियो । भिडभाड बढ्दै गएपछि प्रहरीले प्रदर्शनकारीहरुलाई हटाउन खोज्दा प्रहरी र प्रदर्शनकारीविच ढकेलाढकेल समेत भएको थियो ।

प्रदर्शनकारीबाट हुन सक्ने सम्भावित घट्नालाई मध्यनजर गर्दै प्रतिष्ठानमा सुरक्षाका लागि नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी समेत व्यवस्था गरिएको थियो ।

प्रदर्शनकारीले दिनभर धर्नासँगै नारावाजी गरेपनि अप्रिय घट्ना भने नघटेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले बताउनुभयो । मृतकका आफन्तहरुले धर्नासँगै नारावाजी गरेपछि उपचारका लागि प्रतिष्ठान पुगेका बिरामीहरु समस्यामा परेका छन् ।

मृतक बालककी आमालाई रोजगारी र उपचार खर्च बेहोर्न प्रतिष्ठान तयार रहेपनि पीडित पक्षले उठाउँदै आएको २५ लाख रुपैया क्षेतीपूर्ती बाफतको रकम दिन नमान्दा सहमति हुन सकेको छैन् । बार्तामा कुरा नमिल्दा मृतक बालकको शव समेत उठन सकेको छैन् ।

क्षारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका नेपालीको एमआरआई गर्ने क्रममा बिरामीलाई ह्वील चिअरमा राखेर अक्सिजन सिलिण्डरसँगै लैजादा ढोकाबाटै एमआरआई मेसिनको चुम्वकले तान्दा सिलिण्डरले चोट लागेर बिरामीको मृत्यु भएको पीडित पक्षको आरोप छ । प्रतिष्ठानले भने आफ्नो आधिकारीक धाराणा सार्वजनिक गरेको छैन् ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस