२०८१ माघ १ गते मङ्गलवार

सर्पको बिगबिगी बढ्दो : लुम्बिनी प्रदेशमा १८ जनाको सर्पदंशबाट मृत्यु

दाङ, २७ असार । वर्षा र अत्याधिक गर्मीसंगै लुम्बिनी प्रदेशमा सर्पदंशका घटना बढेका छन् । लुम्बिनी प्रदेशमा चालुवर्षमा मात्रै १८ जनाको मृत्यु भएको छ । जुन गत आर्थिक वर्षभन्दा धेरै हो ।

गतवर्ष सर्पदंशबाट १६ जनाको मृत्यु भएको थियो । चालुवर्षमा सर्पको टोकाईबाट १२ जना महिला, दुई जना पुरुष र चार जना बालबालिकाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

प्रदेशमा सबैभन्दा बढी दाङमा सर्पदंशको बिगबिगी देखिएको छ । प्रदेशका १२ जिल्ला मध्ये चालु आर्थिक वर्षमा सबैभन्दा बढी दाङमा ७ जनाको सर्पदंशबाट मृत्यु भएको छ । नवलपरासी पश्चिम, बाँके, बर्दिया एक/एक जनाको सर्पदंशबाट मृत्यु भएको छ । यस्तै कपिलवस्तुमा ६ र प्युठानमा २ जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल बाँकेका वरिष्ठ कन्सलटेन्ट डा. कृष्णप्रसाद आचार्यले गर्मी मौसम शुरु भएसंग सर्पदंशका बिरामी बढ्न थालेको जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पतालमा दैनिक १० देखि २० जना सर्पदंशका बिरामी भर्ना हुने गरेका छन् ।

पछिल्लो सातामा झनै बढेको उहाँले बताउनुभयो । होसियारी अपनाउने र समयमै अस्पताल पुर्‍याउने हो भने सर्पले टोकेका बिरामीको ज्यान बचाउन सकिने उहाँले बताउनुभयो ॥

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस