दाङ, २६ असार । गोपिलाल थापा डोको र स्याउँ बुन्ने गर्नहुन्छ । उहाँले हातबाट बनेका डोका तुलसीपुरमा बिक्रि गर्नुहुन्छ ।
कपुरकोट गाउँपालिका वडा नम्बर २ सिमलकुना निवासी थापाले एउटा डोको ५ सयसम्ममा बिक्रि गर्ने गर्नुभएको छ ।
तर उहाँले बनाएका डोको पछिल्लो समय अलि कम बिक्रि हुने गरेको छ । डोको नाम्लो गरेर दैनिकी चलाएका गोपीलालले मंगलबार कपुरकोट गाउँपालिकाले बृहत हस्तकला तथा लघुउद्यमको प्रदर्शनीमा चोयाले बुनेको डोको प्रदर्शन गर्न पाउँदा निकै खुशी हुनुभयो ।
‘चोयाले बनेको डोको कम बिक्रि हुन थालेको छ, यस्तो अवस्थामा गाउँपालिकाले हाम्ले बनेका डोका पनि सबैलाई देखाउने अवसर दियो ।’ उहाँले भन्नुभयो-‘यसले केहि भएपनि प्रचार भएको छ, अब बिक्रि गर्न केहि सजिलो हुन्छ भन्ने आशा लागेको छ ।’
कपुरकोट-२ गोठीबन निवासी हस्तबिर बिकले खुकुरी बनाउनुहुन्छ । उहाँले बनाएको एउटा खुकुरी २५ हजार भन्दा बढी मूल्यको पनि छ ।
सानै उमेरदेखि खुकुरी बनाउने सिप सिकेका हस्तबिरले खुकुरीदेखि हसिँयासम्म बनाएरै जिविकको पार्जन गरिरहनुभएको छ । ‘सानै उमेरदेखि सीप सिकेको हुँ ।’ उहाँले भन्नुभयो-‘पहिला अन्न पाइन्थ्यो, अहिले नगद पाउन थालेका छौँ , पछिल्लो समय सिप अनुसारको आम्दानी हुने गरेको छ ।’
उहाँले पनि कपुरकोट गाउँपालिकाले आयोजना गरेको बृहत हस्तकला तथा लघुउद्यमको प्रदर्शनीमा खुकुरी प्रदर्शन गर्नुभयो । प्रदर्शनीमा उहाँले बनाएको खुकुरी र हसिँया मूख्य आर्कषण देखिन्थ्यो ।
मंगलबार कपुरकोट गाउँपालिकाले गरेको कार्यक्रममा हातबाट निर्मित सामग्रि र लुघउद्यमका सामग्रि प्रदर्शन गरिएको हो । बाहिरबाट आयातित वस्तुको विस्थापन गरी गाउँपालिका भित्र नै उत्पादन हुने वस्तुको बजारीकरणका लागि गाउँपालिकाले हस्तकला तथा लघुउद्यमको प्रदर्शन गरेको हो ।
चोयाको डोकोदेखि सल्यानी खुकुरीसम्मका सामग्रि प्रदर्शन गरिएको छ । प्रदर्शनीमा चोयाको पेरुङगो, साबुन, सरफ, चोयाको डालो, कागजको लेदोबाट बनेको मूर्ती, गुडिया, बुटीक लगायतका सामग्रि रहेका थिए ।
त्यस अवसरमा कपुरकोट- ५ जामुने निवासी महिला उद्यमी बेगी डाँगीले साबुन र सरफ बनाउन सकिने भएपनि बजारीकरण र कच्चा पदार्थको सहजता नभएको बताउनुभयो । यस्तै कपुरकोट-४ धनवाङकी कमला बाँठाले बुटिक सिप पहिलो पटक प्रदर्शन गर्न पाएको बताईन् ।
त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले गाउँपालिकालाई आत्मनिर्भर बनाउन स्थानीयस्तरमा उत्पादन हुने वस्तुको बजारीकरणका लागि हस्तकला तथा लघुउद्यमको प्रदर्शनी कार्यक्रम गरिएको बताउनुभयो । ‘कपुरकोटमा साबुन उद्योग स्थापना गर्न सक्छौँ ।’ उहाँले भन्नुभयो-‘हामीले साबुन उद्योग स्थापना गरेपछि कम्तिमा पनि वर्षमा ७५ लाख बाहिर जानबाट रोक्न सक्छौँ ।’
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरतकुमार वलीले स्थानीय उत्पादनको बजारीकरणका लागि गाउँपालिकाले कोशेली घर छिट्टै संचालनमा ल्याउने बताउनुभयो ।
‘गाउँपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि जतिसक्दो छिटो कोशेली घर संचालनमा ल्याउने छ ।’ उहाँले भन्नुभयोे-‘कुन ठाउँमा संचालन गर्ने भन्ने केहि दिनमै टुंगो लाग्नेछ ।’
कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका समन्वय अधिकारी निम बहादुर वलीले कपुरकोट गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने सामग्रिको बजारीकरणमा महत्वपूणर् भूमिका खेलेको बताउनुभयो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका नायव सुब्बा जीवराज केसीले गर्नुभएको हो ।