दाङ,२५ असार । पछिल्लो पाँच वर्षमा वन्यजन्तुको आक्रमणबाट १ सय ९७ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार मुलुकभरका राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्र आसपासमा रहेका जङ्गली जनावरको आक्रमणबाट चालु आर्थिक वर्षको जेठसम्म ३६ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी हात्तीबाट १४ जना, बाघबाट १२ जना, गैँडाबाट ४ जना र चितुवाको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यस्तै जङ्गली बँदेलबाट २ जना र भालुबाट १ जनाको मृत्यु भएको छ ।
वन्यजन्तुको आक्रमणबाट हुने क्षति कम गर्न सरकारले वन्यजन्तुको आहारा र वासस्थानको संरक्षण गर्ने कार्य गरिरहेको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ५८ जनाको मृत्यु भएको थियो । वन्यजन्तुबाट भएको क्षतिका लागि सरकारले ६० करोडभन्दा बढी राहत स्वरूप भुक्तानी गरेको जनाएको छ ।