तुलसीपुर, २१ असार । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेड रगैँचा शाखाले किसानलाई बिउबिजन उपहारको रुपमा वितरण गरेको छ । संस्थाले ११ औँ वार्षिक उत्सवको अवसरमा दाङको शान्तिनगर र दंगिशरणका किसानलाई निशुल्क बिउ वितरण गरेको हो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बिहिबार शान्तिनगर र दंगिशरणका ७१ जना किसानलाई गोपी, टमाटर, बोडी र धनिया वितरण गरेको रगैँचा शाखा प्रमुख हिमराज भण्डारीले जानकारी दिनुभयो ।
संस्थाका कलस्टर प्रमुख कृष्ण बहादुर अधिकारीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओपेन्द्र बहादुर रावतको प्रमुख आतिथ्यतामा कृषि सामग्रि वितरण गरिएको हो ।
त्यस अवसरमा वडा अध्यक्ष रावतले बिउबिजन पाउने किसानलाई स्वरोजगार बन्न आग्रह गर्नुभयो । उहाँले कृषि क्षेत्रको विकासका लागि वडाले विभिन्न समयमा कृषि कार्यक्रम गरिरहेको भन्दै लघुवित्त वित्तिय संस्थाले पनि स्वरोजगार बन्न चाहनेलाई कर्जा प्रवाह गर्ने बताउनुभयो ।
सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेड लक्ष्मीपुर शाखा प्रमुख हिमाल शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कृषि प्राविधिक माधव केसीले विउबिजन लगाउने तरिकाबारे किसानलाई जानकारी गराउनुभयो ।
किसानले बिउ उपहारको रुपमा पाएपछि संस्थाप्रति धन्यवाद ज्ञापन गरेका छन् । त्यस अवसरमा समिता शाह र प्रभा वलीले निशुल्करुपमा प्राप्त भएको तरकारीको बिउबाट उत्पादन गरी सकेसम्म धेरै लाभ लिने बताउनुभयो ।
सिभिल लघुवित्त वित्तिय संस्थाका दाङमा तीनसहित देशभर ७५ वटा शाखा रहेका छन् । संस्थाले कृषि र पशुपालनको क्षेत्रमा समुहमार्फत कर्जा परिचालन गर्ने गरेको छ ।