दाङ, १८ असार । बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि बन्द भएको छ ।
हिजो बेलुकीदेखि दुईतर्फी खुलेको सडक राति दुई बजेदेखि फेरि बन्द भएको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी ओहोरदोहोर भैरहेको बेला तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
पहिरोसँगै खसेको ढुंगाले लागेर एउटा ट्रक सडक छेउमा फसेको छ । ट्रक चालक सामान्य घाइते भएका र उनको मुग्लिनमा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोसँगै सडक छेउमा कोल्टे परेर अडिएको ट्रक हटाएपछि मात्रै गाडी सञ्चालन हुन सक्छ । पहिरो पन्छाउने डोजर तैनाथ अवस्थामा रहे पनि ट्रक हटाउने क्रेन पुग्न बाँकी रहेकाले सडक खुल्न समय लाग्ने प्रहरीको भनाइ छ । यसअघि हिजो पनि शनिवार रातिदेखि बन्द भएको सडक बेलुकीपख मात्रै खुलेको थियो ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउँदा पनि जोखिम कायमै रहने भएकाले मुग्लिन–नारायणगढ सडक खण्डमा सावधानीपूवर्क गाडी चलाउन सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गर्दै आएको छ ।
दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीवारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । सडकमाथिको पहाड पूरै खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित छ । -उज्यालोबाट