२०८१ जेष्ठ ९ गते बुधवार

दाङलाई हराभरा बनाउन कृत्रिम जलाशय

दाङ, १७ असार । दाङमा सिंचाईका लागि कृत्रिम जलाशय बनाउने क्रम वर्षेनी बढ्दै गएको छ । आकाशे पानीको भरमा खेती हुने जग्गालाई बाह्रै महिना सिंचाई गर्नका लागि कृत्रिम जलाशय बन्ने क्रम बढेको हो ।

बृहत दाङ उपत्यका सिंचाई आयोजना मार्फत आर्थिक वर्ष २०७५÷२०७६ देखि चालु आर्थिक वर्ष २०७९÷२०८० सम्ममा ३५ वटा कृत्रिम जलाशय निर्माण गरिएको आयोजना प्रमुख बिराट ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाले गतवर्षसम्म जिल्लामा २७ वटा कृत्रिम जलाशय बनाएकोमा चालु आर्थिक वर्षमात्रै ८ वटा नयाँ जलाशय बनेका छन् । आयोजनाले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगिशरण गाउँपालिका, र शान्तिनगर गाउँपालिकामा कृत्रिम जलाशय निर्माण गरेको छ ।

चालुवर्षमा निर्माण गरिएका ८ वटा कृत्रिम जलाशयमा यसवर्ष वर्षायाममा पानी संकलन हुने र आगामी वर्षदेखि सिंचाईका विभिन्न प्रविधिमार्फत पानी वितरण गर्न प्रक्रिया अघि बढाउने प्रमुख ज्ञवालीले बताउनुभयो ।

तस्वीर : दंगिशरण–१ को भरीय जलासय

जलाशय निर्माण भएसंगै किसानलाई सिंचाईदेखि प्रकृतिको संरक्षण भएको छ । वर्षाको समयमा जलाशयमा जम्मा भएको पानीलाई हिउँदमा सिंचाई गर्न सहज हुने उहाँले बताउनुभयो ।

चालुवर्षसम्म आयोजनाले बनाएका ३५ कृत्रिम जलाशय मध्येबाट छ वटाबाट मात्रै किसानले पूर्णरुपमा लाभ लिएका छन् ।

अन्य जलाशयबाट पनि जतिसक्दो छिटो लाभ लिने गरी लिफ्ट प्रविधि र कुला निर्माणको प्रक्रिया अघि बढाएको आयोजना प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार दाङमा करिब २ सय स्थानमा साना जलाशय निर्माण गर्न सकिने छ ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस