२०८० फाल्गुन २२ गते मङ्गलवार

आज राष्ट्रिय धान दिवस : विभिन्न कार्यक्रम गरी मनाईदै

दाङ, १५ असार । आज असार १५ गते, दाङसहित देशैभर २० औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइँदै छ ।

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । तर, यस वर्ष अझैसम्म पर्याप्त पानी नपर्दा देशैभर रोपाईं प्रभावित भएको छ ।

दाङ उपत्यका, उच्च पहाडी भेग र तराईका अधिकांश भागमा रोपाईं सकिनु पर्नेमा यो वर्ष आधा पनि रोपाईं हुन सकेको छैन् । मध्य पहाडी भागमा भने असार आखिरबाट रोपाई सुरु हुने गर्दछ । सरकारले विसं २०६१ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरेको हो ।

असार १५ लाई मानो रोपेर मुरी उब्जाउने दिन पनि भन्ने गरिन्छ । धान नेपालको प्रमुख खाद्य बाली र खाद्य सुरक्षाको प्रमुख आधार भएकाले सरकारी तहबाटै यसलाई बढी महत्व दिने गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १८ को मजगाउँमा धान रोपाई कार्यक्रमको आयोजना गरिएको तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकृत बाबुराम न्यौपानेले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखा र मेट्रो कलेज तुलसीपुरको संयुक्त आयोजनामा रोपाई दिवस मनाउन लागिएको हो ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिने गरिएको छ । दहि च्युरा खाने प्रचलनका कारण आज बजारमा दहिको माग अत्याधिक हुने गरेको छ । अन्य दिनको तुलनामा आज दोब्बर बढी दहिको खपत हुने गरेको हाम्रो पहुँच डेरीका प्रमुख शिव पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस