दाङ, असार १४ । राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय दाङले आज बिहिवारदेखि जिल्लाभर बृक्षारोपण कार्यक्रमको शुरुवात गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं २ मा रहेको गौरी सामुदायिक वनको खाली क्षेत्रमा बिहान एक कार्यक्रमको आयोजना गरी बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठको सभापतित्व एंव प्रमुख जिल्ला अधिकारी सुशील बैधको प्रमुख आतिथ्यतमा एक औपचारिक कार्यक्रमको आयोजना गरी बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बैधले नेपालको सामुदायिक वन कार्यक्रम बिश्वमै एक सफल कार्यक्रम भएको चर्चा गर्दै वनका माध्यमबाट जीविकोपार्जन सहित वन तथा वातावरणको संरक्षणमा लाग्न सवैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै डिभिजन वन अधिकृत श्रेष्ठले यो बर्ष दाङमा तीन लाख बढि बिरुवा रोप्ने लक्ष्य अनुसार आजदेखि काम थालिएको बताउनुभयो । ५ वटा नर्सरीमा उत्पादन गरिएका तीन लाख बढि बिरुवा रोप्ने काम आजदेखि शुरु भएको उहाँको भनाई थियो ।
राष्ट्रिय बृक्षरोपण दिवसका अवसरमा आज बिभिन्न १४ स्थानमा औपचारिक कार्यक्रम नै गरेर १५ हजार बढि रोपिएको जानकारी दिनुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं २ का अध्यक्ष चित्रबहादुर चौधरी, गौरी सामुदायिक वन समूहका अध्यक्ष हिरालाल चौधरी, वडा सदस्य शरद डागी, सहायक वन अधिकृत अनन्त डाँगी, कृष्णसेन बहुप्राविधिक शिक्षालयका प्रशिक्षक प्रकाश ढकाल लगायतकाले बोल्नु भएको थियो ।
सहायक वन अधिकृत अर्जुनप्रसाद चापागाईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सहायक वन अधिकृत एंव सूचना अधिकारी खिमबहादुर केसीले गर्नु भएको थियो ।
बैज्ञानिक पार्कमा पनि बृक्षरोपण
घोराही उपमहानगरपालिका वडा नं १ मा रहेको आधारभूत विद्यालय सिमलतारामा डिभिजन वन कार्यालयको सहयोगमा निर्माण गरिएको बैज्ञानिक पार्कमा पनि राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर बृक्षारोपण गरिएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर मल्लको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै वडा नं १ का अध्यक्ष राममणि पाण्डेयले पार्क क्षेत्र विद्यार्थीहरुका लागि अध्ययनको राम्रो थलो भएको चर्चा गर्दै पार्क परिसरमा लगायएको बिरुवा हुर्काएर हराभर गराउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
आफूहरुले वन तथा वातावरण संरक्षणमा ध्यान दिएकै कारण हरियाली बढेकाका कारण अनेत्र गर्मी र पानीको हाराकार हुदा पनि आफ्नो वडामा त्यसको अनुभूति नभएको वडाध्यक्ष पाण्डेयको भनाई थियो । कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले बैज्ञानिक पार्कलाई सिकाईको थलोका रुपमा बिकास गर्ने गरी कार्यालयले काम गरिरहेको बताउनुभयो ।
बसन्त हरियाली क्षेत्रमा पनि बृक्षारोपण
राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर घोराही उपमहानगरपालिका वडा नं ४ स्यालापानीमा रहेको निर्माण भएको पोखरि र निर्माणाधिन पिकनिक स्पोट परिसरमा बृक्षारोपण गरिएको छ ।
वन समूहका अध्यक्ष पदम योगीको सभापतित्व एंव डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वन र वातावरणको संरक्षणले समाजमा पुग्ने फाइदाका बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडा नं ४ का अध्यक्ष मधुसुदन घिमिरेले वन तथा वातावरणको संरक्षणका लागि वडाले योजना नै बनाएर अघी बढेको बताउनुभयो । कार्यक्रमको सहजिकरण वन समूहका कार्यालय सचिव बलदेव अधिकारीले गर्नु भएको थियो ।