२०८१ चैत्र ६ गते बुधवार

ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा फरार चार जना पक्राउ

काठमाडौं, १३ असार । ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रही फरार रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-५ बस्ने ६९ वर्षीय मिन बहादुर गुरूङ, सोही महानगरपालिका-७ रातोपुल बस्ने ८० वर्षीय धर्म प्रसाद गौतम, सोही महानगरपालिका-४ धुम्बाराही बस्ने ६५ वर्षीय सुधिर शाह र चन्द्रागिरी नगरपालिका-३ थानकोट बस्ने ६० वर्षीय गोपाल कार्की रहेका छन् ।

जग्गा प्राप्ती ऐन, २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरी नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा दर्ता कायम गरी हिनामिना गरेको सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानको क्रममा वारदात पश्चात फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस