२०८२ बैशाख १० गते बुधवार

कपुरकोटमा नागरिक आरोग्य कार्यक्रम

सल्यान, ३ असार । कपुरकोट गाउँपालिकामा नागरिक आरोग्य कार्यक्रम गरिएको छ । आयुर्वेदिक जीवन शैली अपनाउन ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने उद्देश्यका साथ आइतबार कपुरकोट गाउँपालिकाको कार्यालयमा नागरिक आरोग्य कार्यक्रम गरिएको हो ।

कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुवास हमालको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा डा. हिरा बस्नेतले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई आयुर्वेद जीवनशैली अपनाउनेबारे प्रशिक्षण गर्नुभएको हो । यस्तै कपुरकोट गाउँपालिका वडा नम्बर ३ का योग गुरु प्रेमप्रसाद आचार्यले योग सम्बन्धमा केही आसनहरुको बारेमा समेत डेमो देखाउनु भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, छ वटै वडाका वडा अध्यक्षहरु, शाखा प्रमुखहरु र अन्य कर्मचारी उपस्थिति रहेको थियो ।

रिम गाउँ आयुर्वेद औषधालयको आयोजनामा कपुरकोट गाउँपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण कपुरकोट गाउँपालिकाका प्रशासन तथा योजना सहायक जिवराज खत्रीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस