घोराही, २ असार । घोराही उपमहानगरपालिका १ र २ मा पर्ने कृत्रिम चेपे जलाशयबाट माछा निकालिएको छ । पानीको स्रोत बढाउनुका साथै बहुउदेश्यीय सोचका साथ निर्माण गरिएको जलाशयबाट माछा निकालिएको हो ।
सिचाई, पर्यटन प्रबद्र्धन, ओसिलो कायम राख्ने, हरियाली प्रबद्र्धनका साथै बाताबरणमा समेत सितलता प्रदान भैरहेको अबस्थामा व्यवसायीकरुपमा माछा पालन समेत सफल भएको छ ।
घोराही उपमहानगरपालिकाले बनाएको उक्त जलाशयबाट स्थानियले भरपुर लाभ लिईरहेका छन् । शनिबार नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेय, प्रेस संयोजक निमुसंगम घर्ती सहित स्थानियहरुको उपस्थितीमा माछा निकालेर जलाशय संरक्षण समितिले विक्रि थालेको हो ।
शनिबार पहिलो दिन ११ क्विन्टल बढी माछा निकालेर विक्रि भएको छ । नगरले यस्ता कृत्रिम जलाशय ३ दर्जन बढी बनाएको छ । जसबाट स्थानियहरुले भरपुर लाभ लिइरहेका छन् ।