
दाङ, २९ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा न.ं १८ मा दादुरा रुबेला रोग विरुद्धको खोप अभियानलाई सफल बनाउने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।
नगर स्वास्थ्य केन्द्र हेमन्तपुरको आयोजनामा सोमबार वडा स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुलाई दिएको एक दिने अभिमूखिकरण कार्यक्रममा यस्तो प्रतिवद्धता आएको हो ।
वडामा दादुरा रूबेला रोग विरुद्धको खोप अभियान जेष्ठ ३१ गतेबाट सुरु हुने भएको छ । अभिमूखिकरण कार्यक्रममा नगर स्वास्थ्य केन्द्र हेमन्तपुरका ईन्चार्ज डिल्ली शर्माले दादुरा खोप र रुबेला खोप अभियान सफल बनाउन सबैलाई अनुरोध गर्नुभयो ।
प्रशिक्षणमा ईन्चार्ज शर्माले बिशेष गरि ६ महिनादेखि १५ बर्ष उमेर समुहका बालबालीकाहरुलाई दादुरा र रुबेलाले बढि आक्रमण गर्ने भएकाले उनिहरुका लागी बिशेष गरि यो कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो ।
जेष्ठ ३१ गतेबाट देशभरका १० वटा जिल्लामा सञ्चालन हुने खोप कार्यक्रम ५ दिनमा सक्ने लक्ष्य भएकाले सहयोग गरि खोप कार्यक्रमलाई सफल बनाईदिन शर्माले सबैलाई अनुरोध गर्नुभयो ।
उहाँले दादुरा प्रष्ट देखिने र सबैले चिन्ने खालको देखिएपनि रुबेलाको बारेमा सबैलाई थाहा नहुने र रूबेला रोग शरिरलाई खस्रो बनाउने र असरहरु नदेखिने गरि लाग्ने बताउनुभयो ।
तुलसीपुर १८ का १२ वटा सामुदायिक र निजी विद्यालयहरुमा समय तालिका बनाई उक्त अभियान सञ्चालन गरिने र असार ४ गतेसम्म सबै विद्यालयहरुमा खोप लगाईसक्ने लक्ष्य समेत राखिएको शर्माले बताउनुभयो ।
खोप अभियानमा छुटेका बालबालिकाहरुलाई असार ५ गते नगरस्वास्थ्य केन्द्र हेमन्तपुरमा खोप लगाईने र यस खोपलाई सफल बनाउन समाजमा रहनुभएका विभिन्न सरोकारवालाहरुले सहयोग गरि कार्यक्रममा प्रभावकारि बनाउन अनुरोध गरिएको छ ।
नगरस्वास्थ्य केन्द्र खोप समन्वय समिति तथा तुलसीपुर १८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षता भएको अभिमुखीकरण कार्यक्रममा विभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य स्वयमसेवीका लगाएतका सरोकारवालहरुको सहभागिता रहेको थियो ।