२०८१ मङ्सिर २२ गते शनिवार

यस वर्षको मनसुनबाट लुम्बिनीमा २ लाख जनसंख्या प्रभावित हुने अनुमान

दाङ, २९ जेठ । लुम्बिनी प्रदेशमा यसवर्ष मनसुनबाट करिब २ लाख जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले यस वर्षको मनसुनबाट लुम्बिनीमा १ लाख ९९ हजार ८६२ जनसंख्या प्रभावित हुने अनुमान गरेको हो । मनसुनबाट प्रभावित हुन सक्ने सात प्रदेशमध्ये लुम्बिनी प्रदेश तेस्रोमा छ ।

लुम्बिनीमा यसवर्ष ४५ हजार ७ सय ३५ घर परिवार प्रभावित हुने अनुमान छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मातहतको त्यस समितिले मनसुनजन्य गतिविधिबाट मधेस प्रदेश सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको छ ।

मधेस प्रदेशमा ४ लाख ३ हजार १८० जना प्रभावित हुने समितिको आकलन छ । त्यसपछि कोशी प्रदेश प्रभावित हुने अनुमान गरिएको छ । कोशी प्रदेशमा ३ लाख १ हजार १४३ जना प्रभावित हुने समितिले अनुमान गरेको छ ।

यस्तै कर्णाली प्रदेशमा ३५ हजार ३३३ जनसंख्या प्रभावित हुने अनुमान छ । यसवर्षको मनसुनबाट देशभर १२ लाख ५४ हजार १८१ जनसंख्या अर्थात २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने अनुमान छ ।

विगतको तथ्यांक अनुसार बारम्बार बाढीबाट प्रभावित हुने लुम्बिनीका दाङ, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, बाँके, बर्दियासहित २२ जिल्ला छन् । यस्तै पहिरोको उच्च जोखिममा २० जिल्ला देखिएका छन् ।

प्युठान, रोल्पा, रूकुम पश्चिम, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुंगा, ललितपर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, , दैलेख, अछाम र बैतडी रहेको प्राधिकरणले जनाएको छ ।

तर जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशैभरी कम पानी पर्ने प्रक्षेपण गरेको छ । सरदरभन्दा कम पानी पर्ने भएकोले न्यूनतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान पनि गरिएको छ ।

सामान्यतया जेठ अन्तिम साताबाट मनसुन नेपाल प्रवेश गर्दछ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट मनसुन प्रवेश गर्ने संभावना रहेको बताउनुभयो । नेपालमा मनुसन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ ।

विपदबाट प्रभावित हुन सक्ने जनसंख्या

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस