
दाङ, २९ जेठ । लुम्बिनी प्रदेश सरकार वार्षिक नीति तथा कार्यक्रम ल्याएपछि बजेट निर्माणमा जुटेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, आर्थिक मामिला मन्त्री धनबहादुर मास्की गहिरो छलफलमा जुटे पनि बजेट निर्माण पेचिलो बन्ने देखिएको छ ।
लुम्बिनी प्रदेशका सांसदलाई घुमाउरो गरी बजेट उपलब्ध गराउने तरखर भइरहेको छ । प्रदेशसभा सदस्यलाई दुई करोड २५ लाख बराबरको योजना छान्न दिनेगरी बजेटले सम्बोधन गर्ने तयारी गरिएको स्रोतले जनाएको छ । प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै योजना छान्न दिने, समानुपातिक सांसदलाई सहभागी नगराउने तयारी भएपछि विरोध शुरु भएको छ ।
प्रत्यक्ष र समानुपातिक गरी अन्याय गर्न थालेको राप्रपाका प्रदेशसभा सदस्य मीना श्रेष्ठले बताउनुभयो । यसपालि समानुपातिक सांसदलाई योजना छान्न नदिने तयारी भइरहेको जानकारी पाएपछि समानुपातिक सांसदहरुले विरोध गर्न थालेका छन् ।