२०८२ बैशाख ६ गते शनिवार

गर्मी बढ्दै गएपछि विद्यालयको पठनपाठन प्रभावित

दाङ,२५ जेठ । गर्मी बढ्दै जाँदा प्रभाव विद्यालयसम्म पुगेको छ । केहि दिनदेखि लगातार अधिकतम र न्यूनतम तापक्रम बढ्दै गएपछि विद्यालयको पठनपाठन प्रभावित हुन पुगेको छ । गर्मीका कारण दाङमा पाँच पालिकामा सामुदायिक र संस्थागत विद्यालय बन्द गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकासहित शान्तिनगर गाउँपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिकामा गर्मीका कारण विद्यालय बन्द गरिएको छ ।

गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भएकाले उपमहानगरले जेठ २६ देखि जेठ ३० गतेसम्म पाँच दिन बिदा दिने निणर्य गरेको तुलसीपुर नगर शिक्षा समिति संयोजक मान बहादुर रावतले बताउनुभयो ।

यस्तै शान्तिनगर गाउँपालिकामा पनि जेठ ३० गतेसम्मका लागि विद्यालय बन्द गरिएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिनुभयो । विद्यालयको वार्षिक विदा कटौती हुने गरी गर्मीमा शनिबारसहित पाँच दिन विदा गरिएको उहाँले बताउनुभयो ।

यस्तै गढवा गाउँपालिकामा आजदेखि जेठ २९ गतेसम्म विद्यालय बन्द गरिएको शिक्षा शाखा अधिकृत श्यामबहादुर विकले जानकारी दिनुभयो । यस्तै राजपुर गाउँपालिकामा शुक्रबार (भोली) देखि जेठ ३१ गतेसम्मका लागि विद्यालय बन्द गरिने गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिकामा यसअघि नै विद्यालय बन्द भइसकेका छन् । राप्तीमा गत शुक्रबारदेखि भोलिसम्मलाई बन्द गरिएको शिक्षा अधिकृत विश्वास विकले जानकारी दिनुभयो । गर्मी बढ्दै गए बन्दको अवधि थपिदै जाने उहाँले बताउनुभयो ।

घोराही उपमहानगरपालिकामा संस्थागत विद्यालय भोलिदेखि जेठ ३१ गतेसम्मका लागि बन्द भएका छन् भने सामुदायिक विद्यालय आइतबार जेठ २८ गतेदेखि असार १ गतेसम्म बन्द गर्ने निणर्य भएको शिक्षा शाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । असार २ गते शनिबार परेकाले घोराहीमा असार ३ गतेदेखि विद्यालय संचालनमा आउने भएको छन् ।

लमही नगरपालिकाका शिक्षा शाखा प्रमुख रविन्द्र क्षेत्रीका अनुसार जेठ २८ गते आइतबारदेखि असार १ गतेसम्म लमहीमा विद्यालय बन्द हुने भएका छन् । लमहीमा अहिले खोप अभियान संचालन भइरहेको विद्यालय बन्द गर्न नसकिएको उहाँले बताउनुभयो ।

बंगलाचुलीमा भने विद्यालय संचालनमा छन् । गाउँपालिका सुचना अधिकारी गोपाल केसीका अनुसार पहाडी क्षेत्रमा गर्मी धेरै नभएकाले विद्यालय बन्द गरिएको छैन् । दंगिशरण गाउँपालिकामा आइतबारदेखि बुधबारसम्म विद्यालय बन्द गरिने गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।

यस्तै बबई गाउँपालिकामा भने अझैसम्म विद्यालय बन्द गरिएको छैन् । गर्मीका कारण पठनपाठनमा असहता भएपनि अझै विद्यालय बन्द गर्नेबारे निणर्य भइनसकेको गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस