२०८२ बैशाख १० गते बुधवार

पाइप काटिएपछि छ सय घरधुरीमा खानेपानीको समस्या

तुलसीपुर, २३ जेठ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर ८ अस्वारामा तीन दिनदेखि खानेपानीको समस्या भएको छ । अज्ञात व्यक्तिले खानेपानीको पाइप काटेपछि करिब ६ सय घरधुरीमा खानेपानी धारा अवरुद्ध भएको हो ।

अस्वारा खानेपानीको मूख्य पाइप ठाउँ-ठाउँमा काटीएको छ । केहि दिन अघि फुलबारी सामुदायिक बन तुलसीपुर-३ राउटेचौरमा लागेको आगोले खानेपानीको पाइप जलेपछि पानी अवरुद्ध भएको थियो ।

पछिल्लो समय पाइप जलेको ठाउँमा मर्मत गरेपनि फेरि अज्ञात व्यक्तिले ठाउँ-ठाउँमा पाइप काटेकोले धारामा पानी दिन नसकिएको अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शिवहरि भण्डारीले जानकारी दिनुभयो ।

काटीएको पाइप मर्मतको काम भइरहेको छ । पानीको पाइप अवरुद्ध भएपछि गाउँमा खानेपानीको हाहाकार भएको छ । धाराको विकल्पमा कुवा पनि नहुँदा समस्या भएको छ । धारामा पानी नआउँदा खानेपानीदेखि , शौचालय र सरसफाईको समस्या समेत भएको छ ।

पाइप गाड्न नमिल्ने ठाउँमा अज्ञात व्यक्तिले पाइप काटेको अध्यक्ष भण्डारीले बताउनुभयो । खानेपानीको मूख्य पाइप १२ मिटर जति चोरी समेत भएको छ । पाइप काटीएको ठाउँमा पाइप मर्मत भइरहेको र जतिसक्दो छिटो पानी धारामा उपलब्ध गराउने अध्यक्ष भण्डारीले बताउनुभयो ।

पाइप काट्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीमा उजुरी दिएको खानेपानी संस्थाका सचिव ओपेन्द्र बस्नेतले बताउनुभयो । ट्यांकरबाट पानी पुर्‍याउने कोशिस गरेपनि ट्यांकर समेत सहजरुपमा पाउन नसकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस