२०८१ फाल्गुन १ गते बिहिवार

सहरको फोहरले गाउँ प्रदुषित


दाङ, १९ जेठ ।
दाङको घोराही, तुलसीपुर र लमही दाङ जिल्लाका प्रमुख बजार क्षेत्र हुन् । घोराही उपमहानगरपालिकामा २०, तुलसीपुर उपमहानगरपालिकामा २५ र लमही नगरपालिकामा ६ टन गरी जिल्लामा दैनिक ५१ टन फोहोर संकलन हुँदै आएको छ ।

फोहोर संकलन गर्न घोराहीले १०, तुलसीपुरले ६ र लमहीले ४ वटा गाडीहरु प्रयोग गर्ने गरेका छन् । बजारबाट संकलन गरिएका फोहोर पालिकाहरुले ल्याण्डफिल्ड साइटमा व्यवस्थापन गर्दै आएका छन् ।

तर ग्रामिण क्षेत्रको फोहोर व्यवस्थापनमा भने पालिकाहरुले वास्ता गरेका छैनन् । शहर क्षेत्रमा हरेक दिन फोहोर उठाइरहँदा गाउँमा थुप्रिएको फोहोर भने उठाउने गरिएको छैन । सड्ने गल्ने फोहोर खेतबारीमै मिले पनि नकुहिने प्लास्टिक र सिसाजन्य फोहोर भने गाउँमै अलपत्र देखिन्छन् ।

बजार क्षेत्रबाट निस्कने फोहोरले गाउँलाई समेत प्रदूषित बनाएको छ ।

जिल्लाको प्रमुख बजार क्षेत्र घोराही, तुलसीपुर र लमहीबाट निस्कने फोहोरहरु खोला, कुला हुँदै खेतबारीसम्म पुगेर थुप्रिने गरेपछि स्थानीय चिन्तित छन् ।

शहरको फोहोर गाउँसम्म पुग्दा अन्नबालीमा रोग लागेको र गाईवस्तु बिरामी भएको गुनासो स्थानीयको छ ।

घोराही उपमहानगरले बजार क्षेत्रमा हरेक दिन फोहोर संकलन गर्छ । तर कतिपयले कटुवा खोलामै फोहोर फाल्ने गर्छन् । तिनै फोहोर बग्दै गाउँको खेतबारीसम्म आइपुग्ने घोराही-१६ वयरबटुवाका किसान हरिराम चौधरी बताउनुहुन्छ ।

घोराही उपमहनगरपालिका-६ फचकपुरका मणिराम बुढाथोकी फोहोरकै कारण गाईवस्तु पनि बिरामी हुन थालेको बताउनुहुन्छ ।

गाउँघरका कुला, खोल्सामा फोहोर थुप्रिन थालेपछि गाउँको सुन्दरता हराउँदै गएको चिन्ता स्थानीयलाई छ ।

तुलसीपुर उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका माधव पौडेल पनि शहरवासीले खोलामा फालेका फोहोरले गाउँसम्म प्रदूषण फैलिरहेको बताउनुभयो ।

पालिकाहरुले जथाभावी फोहोर फाल्नेलाई दुई सयदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था समेत गरेका छन् । तैपनि फोहोर फाल्नेक्रम रोकिएको खबर अनलाईन खबरमा आभास बुढाथोकीले लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस