२०८१ चैत्र ६ गते बुधवार

तराईका जिल्लामा गर्मी बढ्दै, सावधानी अपनाउन विज्ञको सुझाव

दाङ, १८ जेठ ।
दाङसहित तराईका जिल्लामा गर्मी बढेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान छ । केही दिन यता देशभर बिहानैदेखि चर्को घाम लागिरहेको छ ।

पछिल्लो दुई-तीन दिन यता दाङसहित देशभरकै अधिकतम तापक्रम दुईदेखि तीन डिग्री सेल्सियसले बढीरहेको छ ।

दाङमा गएको आइतबार ३१ दशमलव ७ डिग्रि सेल्सीयस रहेको थियो । यस्तै सोमबार अधिकत तापक्रम ३३ दशमलब ६ डीग्री सेल्सीयस रहेकोमा मंगलबार अधिकत तापक्रम ३५ दशमलब ५ डीग्री सेल्सीयस पुगेको हो ।

बुधबार दाङको अधिकत तापक्रम ३६ दशमलब २ डीग्री सेल्सीयस रहेको थियो । तराईका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ भने केही क्षेत्रमा नाघेको छ ।

सिमराको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस र भैरहवाको ४० दशमलव ९ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै, नेपालगञ्ज, विराटनगर, धरान लगायत क्षेत्रको मौसम ४० डिग्री सेल्सियसको हाराहारीमा छ।

अझै तीन दिन मौसम यस्तै रहने अनुमान रहेको मौसमविद् रोजर लामिछानेले बताउनुभयो ।

तापक्रम बढिरहेकाले तराईका जिल्लामा तातो हावा चल्ने सम्भावनासमेत रहेको उहाँले बताउनुभयो ।

तराई मधेसका धेरैजसो जिल्लामा केही दिन अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुग्ने अनुमान रहेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकुल असर पुर्‍याउन सक्ने भन्दै सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

गर्मी बढी हुँदा तातो हावा चल्ने र लु लाग्ने सम्भावना धेरै हुने अर्का मौसमविद् संजिव अधिकारीले बताउनुभयो ।

घाम चर्किएका बेला सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न विज्ञको सुझाव छ ।

यस्तै, प्रशस्त मात्रामा पानी पिउन तथा पानी पाइने फलफूल खान, खेतबारीका काम बिहान बेलुका मात्रै गर्न विज्ञको सुझाव छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस