२०८१ जेष्ठ ८ गते मङ्गलवार

जिपले च्याप्दा एक महिलाको मृत्यु, एक जना गम्भिर घाइते

रोल्पा, १६ जेठ । रोल्पामा जिपले च्याप्दा एक महिलाको मृत्यु भएको छ । सोमबार दुर्घटनामा जिपले च्याप्दा घाइते परिवर्तन गाउँपालिका – २ राङ्सीकी ५८ वर्षीया खुबु डाँगीको उपचारका क्रममा प्राथमिक स्वास्थ्य चौकी होलेरीमा मृत्यु भएको हो ।

परिवर्तन गाउँपालिका – २ राङसीबाट दाङको घोराहीतर्फ आउँदै लु १ ज ३०२५ नम्बरको भाडाको जिप सहिद मार्ग अन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका- २ भांगोबारीमा सोमबार दिउँसो तीन बजेतिर दुर्घटनामा परेको रोल्पा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताउनुभयो ।

प्रहरीका अनुसार जिपमा तेल सकिएपछि रोकिएको थियो । तेल भरेर स्टार्ट गरी यात्रु चढाउने क्रममा टायरमा राखेको आड नाघेर जिप पछाडि गुडेको थियो। त्यस क्रममा यात्रुले हाम फालेपछि दुई जना च्यापिन पुगेका थिए । जिपले च्यापेकामध्ये एक जना घाइतको मृत्यु भएको र अर्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी परिवर्तन – २ राङ्सीका १८ वर्षीय भूपेन्द्रबहादुर वली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । वलीलाई उद्धारपछि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी प्रवक्ता भुसालले जानकारी दिनुभयो । जिपमा कुल १४ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस