यो वर्ष सुरु भएपछि विपद्का घटनामध्ये आगलागी धेरै भएको पाइएको छ । गत वैशाख १ गतेदेखि हिजोसम्ममा देशका ६ सय ६ ठाउँमा आगो लाग्दा १२ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार आगलागीबाट ८ सय ३० परिवार प्रभावित भएका छन् । आगलागीपछि चट्याङ् र हुरीबतासका घटना धेरै भएका छन् । यो ३५ दिनमा मात्रै ५३ वटा चट्याङका घटनामा परेर ७ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।
हुरीबतासका कारण एक जनाको मृत्यु हुँदा ६ जना घाइते छन् । अहिले मनसुन अघिको अवस्था अर्थात प्रिमनसुन चलिरहेकाले साँझपख चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना धेरै हुने भएकाले हिँडडुल गर्दा ख्याल गर्न मौसमविद्ले सुझाव दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भएर साँझतिर चट्याङ हावाहुरीसहित पानी पर्नु मनसुन अघिको अवस्थाको विशेषता भएको बताउनुभयो ।