दाङ – लुम्बिनीमा आज प्रदेश सरकार विस्तार हुने भएको छ । प्रदेश सरकारको मन्त्री परिषद विस्तारका लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज बिहान आठ बजे सर्वदलिय बैठक आब्हान गर्नुभएको छ । हिजो साँझको बैठक निष्कर्षमा पुग्न नसकेपछि अहिले बिहान ८ बजे बैठक आब्हान गरिएको हो ।
सरकार बजेट निर्माणको तयारीमा जुट्ने बेलामा पनि सरकार विस्तार हुन नसकेको आलोचना बढ्दै गएपछि मुख्यमन्त्री चौधरी सरकार विस्तारको तयारीमा जट्नुभएको हो ।
चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । वैशाख १९ गते नै आठ दल र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यको विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री चौधरीले कांग्रेसबाट मन्त्रीका आकांक्षी धेरै भएपछि सरकार विस्तार गर्न सक्नुभएको छैन् ।
मुख्यमन्त्री चौधरीले आज नै यसअघि बिनाविभागीय मन्त्री बनेका माओवादीका १, लोसपाका १ र नागरिक उन्मुक्तिका एक जनालाई मन्त्रालयको जिम्मेवारी प्रदान गर्दै हुनुहुन्छ । स्रोतका अनुसार माओवादीका धनबहादुर मास्की आर्थिक मामिलामन्त्री र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधारमन्त्री बन्ने भएका छन ।
मास्कीको आर्थिक मामिला मन्त्रालय टुंगो लागे पनि नागरिक उन्मुक्तिलाई अर्को मन्त्रालयमा मनाउने प्रयास पनि जारी छ । तर भौतिक पूर्वाधार मन्त्रालय बाहेक अन्य मन्त्रालयमा जिम्मेवारी नलिने नागरिक उन्मुक्तिले अडान राखेपछि उसलाई त्यही मन्त्रालय दिने तयारी छ ।
त्यस्तै लोसपाबाट बिनाविभागीय मन्त्री बनेका सन्तोषकुमार पाण्डेले पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयमा दाबी गरिरहनुभएको छ । उहाँलाई त्यो मन्त्रालय फुटाएर पर्यटनसहित अन्य जिम्मेवारी थपेर नयाँ मन्त्रालय दिने तयारी छ । तर मन्त्रालय फुटाएर थप हुने मन्त्रालयको कार्यविभाजन टुंगो नलागेकाले लोसपाका पाण्डेको मन्त्रालय पनि टुंगो लागेको छैन ।
मुख्यमन्त्री चौधरीले ढिलोमा बुधबारसम्ममा सरकार पूणर् हुने बताउनुभयो । उहाँले कांग्रेसबाट मन्त्रीका लागि धेरै आकांक्षी भए पनि मन्त्रीको विषयमा लगभग सहमति भएको बताउनुभयो ।