दाङ, १९ वैशाख । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको तयारीमा स्थानीय सरकार जुटेका छन् । स्थानीय सरकारले असार १० गतेभित्र बजेट ल्याईसक्नुपर्ने संवैधानिक व्यबस्था रहेको छ । त्यही आधार टेकेर दाङका स्थानीय सरकार बजेट निर्माणको कार्यमा लागेका छन् ।
दाङका १० वटै स्थानीय तह आउदो आर्थिक वर्षको बजेटको तयारीमा जुटेको बताएका छन् । बजेटको तयारीमा जुटेका स्थानीय तहहरुले चालु आर्थिक वर्षको भन्दा बजेट घटाएर ल्याउने तयारी गरेका छन् । संघीय सरकार र प्रदेश सरकारबाट आउने अनुदान रकम समेत घटेर आउने भएकोले स्थानीय तहहरुले बजेट घटाएर ल्याउने तयारी गरेका हुन् ।
दाङमा दुई उपमहानगरपालिका एक नगरपालीका र सात वटा गाँउपालिका रहेका छन् । कतिपय स्थानीय तहले बजेटको तयारीका लागि बस्ती सतरबाट योजना छनोट गर्न सुरु गरेका छन् भने कतिपयले छनोट गर्ने तयारी थालेको जनाएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले पनि आउँदो आर्थिक वर्षको लागि बजेटको तयारी सुरु भएको जनाएको छ । बजेटका लागि प्रारम्भिक तयारी गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो । पालिकाले अर्को वर्ष बजेट घटाएर ल्याउने तयारी गरेको छ । नयाँ कार्यक्रमलाई भन्दा पनि पुरानो योजनाहरुलाई निरन्तरता दिेने केसीले बताउनुभयो ।
उता घोराही उपमहानगरपालिकाले योजना छनोटका लागि तयारी गरेको जनाएको छ । योजना छनोट गर्न पालिकाले वडा कार्यालयमा पत्र पठाउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले बताउनुभयो । गढवा गाँउपालिकाले भने बस्ती स्तरबाट योजना ल्याइसकेको जनाएको छ । बस्तीबाट छनोट गरेर ल्याएका योजनालाई प्रशोधन गरीने प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताउनुभयो ।