२०८१ माघ १ गते मङ्गलवार

लुम्बिनीमा नयाँ सरकार गठनका लागि गठबन्धन र एमालेको अलग अलग दावि

दाङ, १२ बैशाख । लुम्बिनी प्रदेशमा विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएको नेकपा एमाले र ८ दलीय गठबन्धनले सरकार गठनका लागि अलग अलग दावी गरेका छन् ।

दलीय गठबन्धनले प्रदेश प्रमुख समक्ष धारा ७६ को उपधारा दुई अनुसार सरकार गठन गर्न माग गर्दै ५३ सांसदको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखसमक्ष पेश गरेको छ ।

एमाले नेतृत्वको काम चलाउ सरकारले भने धारा ७६ (२) को सरकारले विश्वासको मत गुमाएपछि ७६ (३) अनुसार सरकार बन्नुपर्ने दावी प्रदेश प्रमुख समक्ष पेश गरेको छ ।

बहुमतको सरकारबाट बाहिरिएको नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार पुनः संसदीय दलका नेता लीला गिरी नेतृत्वमा सरकार बनाउने तयारी थालेको हो ।

विश्वासको मत नपाएपछि सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले गिरी नेतृत्वको सरकारलाई कामचलाउ सरकारको रुपमा काम गर्न जिम्मेवारी दिनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले धारा ३ अनुसार सरकार गठन गर्न आग्रह गरेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।

यसअघि ८ दलका ५३ सांसदहरुले कांग्रेस नेता डिल्ली चौधरीलाई धारा २ अनुसार सरकार बनाउन दावी पेश गरिसकेका छन् । यद्यपि सरकार आलोपालो गर्ने विषयमा ती दलमा अझै कुरा नमिलेको बताइएको छ ।

एमाले दलका नेता रहेका मुख्यमन्त्री गिरीले धारा ३ अनुसार ठूलो दलको हैसियतमा पुनः सरकार बनाउन आव्हान गर्न आग्रह गरिएको बताउनुभयो । प्रदेश प्रमुख कार्यालयले अव नयाँ सरकार गठनका लागि कुन धारा अनुसार आव्हान गर्ने भन्ने खुलाएको छैन । प्रदेश प्रमुखको सचिवालयले प्रदेश प्रमुखले कानुनविद्हरुसँग छलफलमा रहेको जनाएको छ ।

लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेको २९, नेपाली काँग्रेसको २७, माओवादीको १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टी ३ स्वतन्त्र २, जनमोर्चा १, नेकपा एकीकृत समाजवादी १ रहेका छन् ।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस