२०८१ कार्तिक ३० गते शुक्रवार

श्रीमती हत्या आराेपमा श्रीमान पक्राउ


दाङ, ९ बैशाख । दाङमा श्रीमतीलाई हत्या गरेको आराेपमा श्रीमान पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका-१२ रतनपुरमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीको हत्या आरोपमा केसीका ४१ वर्षीय श्रीमान मेघराज पक्राउ परेका हुन्। 


उनलाई शुक्रबार राति घोराही उपमहानगर-४ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिनुभयाे ।
वैशाख १ गते राति साढे ९ बजे काठको चिरपटले हानेर शारदाको हत्या गरेको मेघराजले प्रहरीसमक्ष बयान दिएका छन्। हत्यापछि डेढ घण्टा लगाएर शव खाल्डोमा पुरेको बताएकाे प्रहरीले जनाएको छ ।


घटनाबारे प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी समेत गरेको छ ।


गत स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भएपछि विजय जुलुसका लागि घरबाट हिँडेका मेघराज गत पुसमा मात्रै घर फर्किएका थिए। 


त्यसबीचमा शारदाले बेपत्ता भएका श्रीमान् खोजिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएकी थिइन्। प्रहरीले पनि उनको खोजी गर्दा फेला पारेको थिएन।

 
घरपरिवारले मेघराजको सम्बन्ध परस्त्रीसँग रहेको आशंका गरेको थियो। सोही विषयमा मेघराज र शारदाबीच पटकपटक झगडा भएकाले हत्या उनैले गरेको हुनसक्ने प्रहरीको आशंका थियो।  


शारदाको माइती पक्षले पनि गत बुधबार मेघराज नै हत्यामा संलग्न भएको व्यहोरासहितको किटानी जाहेरी दिएका छन्।


हत्या भएको दिन वैशाख १ गते शारदाकी छोरी र १५ वर्षीय कान्छा छोरा घोराहीको हेमन्तपुरस्थित मामाघर गएका थिए। जेठा छोरा भने रोजगारी सिलसिलामा भारत बस्छन् ।

मध्य रातमा श्रीमानले श्रीमतीको हत्या गरी घरनजिक खाडलमा गाडेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।


शारदाको शव सुरूमा गाउँकै एक महिलाले देखेकी थिइन्।


घरनजिकै उत्तरतर्फ मेवाको बोटमुनि दुई फिट जति गहिरो खाल्डोमा शव गाडेको अवस्थामा थियो। प्रहरीका अनुसार त्यो झिँगटीहरू फाल्ने गहिरो ठाउँ थियो। स्थानीयले भने मल खाल्डो भएको बताएका छन्।


सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेर खनी हेर्दा शारदाको शव फेला परेको थियो। पोस्टमार्टम रिपोर्ट र शारदाकी श्रीमान् पक्राउ परेपछि मात्रै घटनाबारे थप खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस