कपुरकोट, ३ चैत । सल्यानको कपुरकोट गाउपालिकाले कृषि र पशुपालनको व्यवसायीकरणदेखि सावुन उद्योग स्थापना पञ्चवर्षिय आवधिक योजनामा अघि सार्ने भएको छ । गाउँपालिकाले पाँच वर्षभित्र समृद्ध पालिकाको रुपमा स्थापित गर्न दुग्ध तथा मासुजन्य वस्तुको उत्पादनका लागि पशुपालनदेखि बेरोजगारी समस्या समाधान गर्न साबुन र काष्ठ उद्योग स्थापना गर्ने पञ्चवर्षिय आवधिक योजना बनाएको छ ।
आगामी आर्थिक वर्ष २०८४/२०८५ सम्म आवधिक र मध्यकालिन अधिकतम योजना सम्पन्न गर्ने लक्ष्यका साथ गाउँपालिकाले पञ्चवर्षिय योजना निर्माण गर्न लागेको हो । पञ्चवर्षिय योजनामा कपुरकोट गाउँपालिका कृर्षि र पशुपालनमा प्रशस्त संभावना बोकेकोले कृषि ब्लकदेखि भैसी र बाख्राको ब्लक कार्यक्रम समेटिने भएको छ ।
यस्तै सुन्तला र कागतिको पकेट क्षेत्र निर्धारण गरी व्यवसायीकरण गर्ने योजना गाउँपालिकाले बनाएको छ । यसैगरी आर्थिक विकासका लागि घंगालीचौर, रुण्टीलेख, सातमुल, कालिका मन्दीर, मूलपानी वनस्पति उद्यान लगायतका पर्यटकियस्थलको विकास र प्रवद्र्धन गर्ने, सामुदयिक बनमा उद्यान स्थापना गरी पर्यटन प्रवद्र्धन गर्ने कपुरकोट गाउँपालिकाले पञ्चवर्षिय आवधिक योजनामा समेटने भएको छ ।
गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले वायोलोजिकल म्युजियम र साँस्कृतिक संग्रालय स्थापना गरी कपुरकोटको पहिचान बनाउने योजना रहेको बताउनुभयो । यसैगरी कपुरकोटलाई आर्थिक समृद्धिमा लैजान काष्ठजन्य उद्योगदेखि साबुन र सरफ उद्योग स्थापना गर्ने पञ्चवर्षिय आवधिक योजनामा समेटीने अध्यक्ष पुनले बताउनुभयो ।
यसैगरी बायो ग्याँस प्लान्ट स्थापना, अलपत्र अवस्थामा रहेको १५ शैयाको अस्पतालको निर्माणलाई पूणर्ता दिने, पाँच वर्षभित्र दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरी आगामी वर्षमा पालिकालाई नै पोषणमैत्री बनाउने योजना गाउँपालिकाको छ ।
यस्तै गरी शैक्षिक सुधार गरी पालिकालाई शिक्षाको हब बनाउन शिक्षक दरबन्दी मिलानदेखि विद्यालय मर्जलाई विषेश योजनाका साथ लैजाने अध्यक्ष पुनले बताउनुभयो ।
यसैगरी कपुरकोट बहुमुखि क्याम्पसलाई थप व्यवस्थित गर्ने र जीवन ज्योति मावि रिमलाई कृषि क्याम्पसकोरुपमा अघि बढाउने गाउँपालिकाले पञ्चवर्षिय आवधिक योजनामा समेट्ने भएको छ । कपुरकोट गाउँपालिकाले सडक पुर्वाधारलाई पनि प्राथमिकतामा राखेको छ ।
कपुरकोट-कोइला सडकलाई कालोपत्रे, कपुरकोट-धनवाङ-फलावाङ सडक कालोपत्रे, खाली सल्लाम-शितलबजार हुँदै टुनिबोट जोड्ने सडकको कालोपत्रे, कपुरकोट-गोठीबन सडक, खाली-गर्पा र दहबन जोड्ने सडक, को स्तरोन्नती, टुनिबोट-छायाँनाथ-कोइला सडकको कालोपत्रे गर्ने पञ्चवर्षिय योजनामा समेट्ने भएको छ ।
कपुरकोट-तुलसीपुर सडक राप्ती राजमार्गको वैकल्पीक सडकका रुपमा कपुरकोट-सातदोवाटो सडक प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । सडकको गुरुयोजना बनाएर अघि बढ्ने योजना बनाएको उहाँले बताउनुभयो । यस्तै भवन निर्माण आचारसंहिता लागु गर्ने, घर बनाउँदा नक्सा पास अनिवार्य गर्ने लगायतका योजना पञ्चवर्षिय योजनामा राखिने उहाँको भनाई छ ।
यस्तै गाउँपालिकालाई आउँदो दुई वर्षभित्र अध्याँरोमुक्त पालिका बनाउने गरी विद्युतिकरणको काम अघि बढाएको छ । यसैगरी आगामी दुई वर्षभित्र खरको छानामूक्त अभियानलाई सफल बनाउने उहाँले बताउनुभयो ।
यस्तै पालिकाले वडा र पालिकाको योजना समेटेर एकिकृत योजना बैंक संचालन गर्ने, वडाबाट छानेका योजनालाई प्रोजेक्ट बैंक राखेर प्राथमिकताको आधारमा योजना सम्पन्न गर्दै जाने पञ्चवर्षिय योजनामा समेटिएको छ । पालिकाको आवधिक योजनालाई आन्तरिक र बाह्य स्रोतबाट बजेट व्यवस्थापन गरिने अध्यक्ष पुनले बताउनुभयो ।
पालिकाले केहि योजना गौरबका आयोजनाको रुपमा अघि बढाउने र केहि योजना आवश्यकताको आधारमा हुने योजनालाई पनि प्राथमिकतामा राख्ने उपाध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले प्राथमिकताका आधारमा बजेट बिनियोजन गरिने बताउनुभयो । उहाँले आवधिक योजना बनाउने पालिकामध्ये सल्यानमै पहिलो पालिका रहेको बताउनुभयो ।
गाउँपालिकाले आइतबार पञ्चवर्षिय आवधिक योजनालाई अन्तिम रूप दिन र मध्यकालीन खर्च संरचना निर्माणको प्रारम्भिक छलफल कार्यशाला गोष्ठी गरेको हो । त्यसअवसरमा पालिकाका ६ वटै वडाका अध्यक्षले मध्यकालिन तथा पञ्चवर्षिय आवधिक आ-आफ्नो योजना प्रस्तुत गरेका हुन् ।
स्थानीय तह विज्ञ दुर्गा प्रसाद पोखरेलले विभिन्न २२ उप शिर्षकमा रहेर योजना छनौट गर्दा पञ्चवर्षिय योजना सफल हुने बताउनुभयो । उहाँले आवधिक योजनाभित्र रहि मध्यम कालिन खर्चको संरचना निर्माण गर्नुपर्ने बताउनुभयो । तीनवटै तहका सरकारले योजना नमिल्दा पालिकामा बेरुजु आउने गरेको उहाँको भनाई छ । कार्यक्रमको सहजीकरण नायव सुब्बा जीवराज केसीले गर्नुभएको हो ।