२०८१ असोज २२ गते मङ्गलवार

सात वर्ष हुँदा पनि बनेन पुल

दाङ, १ बैशाख । दाङको डुरुवा–कोठरी जोड्ने हापुर खोलामा सात वर्ष हुँदा पनि पुल निर्माण कार्य सम्पन्न भएको छैन ।

निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै म्याद थप्दै आएको छ । पटक–पटक म्याद थप्दै आएपनि अझै पनि बजेट अभावका कारण पुल निर्माण हुने अवस्था नरहेको निर्माण पक्ष बताउँछ ।

तुलसीपुर उपमहानगरपालिका– १५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुर खोलामा पुल निर्माण हुन लागेको सात वर्ष पुग्न लाग्यो । २०७५ चैत्र १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपी सूर्य जेभी कन्स्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोजमा भ्याट बाहेक १० करोड ५० लाख २१ हजार ४ सय रुपैयाँमा उक्त पुल निर्माणको ठेक्का सम्झौता भएको थियो ।

सुरुको दिनमा व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माणमा विवाद भएको थियो । तर, पछि निर्माण कम्पनीले विविध कारण देखाउँदै म्याद थप्दै आएको छ । लामो समयसम्म पुल नबन्दा धेरै सास्ती भोग्नु परेको स्थानीयले गुनासो गरेका छन् ।

यस्तै, समयमा पुल नबन्दा सवारी चालकहरूले पनि सास्ती भोग्ने गरेको बताउँछन् । वर्षा याममा निकै समस्या हुने गरेको उनीहरूको भनाइ छ ।

यता, वडा कार्यालयले पनि पुल नबन्दा नागरिकले सास्ती पाएको भन्दै निर्माण कम्पनीलाई चाँडो पुल निर्माण गर्न आग्रह गर्दै आएको छ भने निर्माण कम्पनीले बजेट अभाव भएको भनेर जानकारी दिएको छ । वडाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको जनाएको छ ।

सडक डिभिजन कार्यालय दाङले पनि पुल निर्माणको काम भइरहेको र २०८० साल असार मसान्तसम्म म्याद रहेको जनाएको छ । यदि तोकिएको समयमा निर्माण सम्पन्न नभएमा अब म्याद थप नहुने र निर्माण कम्पनीलाई कारबाही हुने कार्यालयको भनाइ छ ।

नेपालमा ठूलो लगानीमा विकास निर्माणका कार्य सुरु हुने तर, ती समयमै सम्पन्न नहुने हुँदा नागरिकले सास्ती पाउने गरेका छन् । तसर्थ विभिन्न बहानामा म्याद थप्ने कार्य बन्द गर्ने र तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने कम्पनीलाई कारवाही गर्नुपर्छ ।

प्रकाशित मिति : २०८० बैशाख १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस