२०८० असोज ८ गते सोमवार

दाङमा दर्जन बढी सडक र पुलको निर्माण कार्य अलपत्र

दाङ, २५ चैत । दाङका एक दर्जनभन्दा बढी सडक र पुलको निर्माण कार्य अलपत्र छ । विकास निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी र सडक विस्तार आयोजनाको लापरबाहीले सडक तथा पुल निर्माणको काम अगाडि बढ्न सकेका छैनन् ।

जिल्लामा नौं वर्षको अवधिमा दर्जन बढी ग्रामीण तथा सहरी सडकको स्तरोन्नति काम अधुरै भएको सडक डिभिजन कार्यालय दाङका ईन्जिनियर एवं सूचना अधिकारी रिकेश महर्जनले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७०/०७१ देखि यस आर्थिक वर्षको माघ मसान्तसम्म १२ वटा निर्माणाधिन सडक र तीनवटा पुलहरू अलपत्र अवस्थामा छन् । पछिल्लो पटक थपिएको म्यादको समय सकिए पनि निर्माण व्यवसायीले फेरी थप गर्न कुनै पनि आवेदन नदिएको उहाँले बताउनुभयो ।

घोराहीको कटुवाखोला पुलदेखि तुलसीपुर चोकसम्ममा पर्ने सडकलाई चारलेनमा स्तरोन्नति गर्ने कार्य अलपत्र छ । ठेक्का सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि मर्मत हुन सकेको छैन । सडक मर्मतको जिम्मा लिएको कान्छाराम शंकरमाली जेभिले हालसम्म ८९ प्रतिशत काम मात्र सकेको छ ।

२०७१ भदौ ११ गतेबाट २०७७ साल जेठ २३ गते सडक निर्माणको लागि ठेक्का सम्झौता भएपनि हालसम्म निर्माण कार्य सम्पन्न हुन सकेको छैन् । निर्माण भएको सडक पनि जीणर् बनेको छ भने बाँकी निर्माणको काम अगाडि बढ्न सकेको छैन् ।

११ करोड ६४ लाख रूपैयाँमा निर्माण हुने भनिएको सडक अहिलेसम्म अधुरै बनेको छ भने पुस मसान्तसम्मा ७ करोड ६० लाख रकम भुक्तानी भैसकेको छ । तर काम भने ८९ प्रतिशतमा रोकिएको छ । सम्झौताअनुसार उक्त काम १३ महिनामा सम्पन्न गर्नुपर्ने थियो । तर अहिले ८९ प्रतिशतमा काम रोकिएको सडक डिभिजन कार्यालय दाङका ईन्जिनियर एवं सूचना अधिकारी महर्जनले जानकारी दिनुभयो ।

तुलसीपुर बजारमा सहरी सडकको अवस्था पनि उस्तै छ । २०७१ साउन मसान्तदेखि २०७२ असोज मसान्त १ वर्षभित्र काम सक्ने गरी ५ करोड ४७ लाखमा ठेक्का सम्झौता भएको हो । निर्माण कम्पनीको लापरबाहीका कारण अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन् । पुस मसान्तसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालय दाङले जानकारी दिएको छ ।

यस्तै पाँच महिनामा निर्माण कार्य सक्नुपर्ने लमही-तुलसीपुर-घोराही-प्यूठान सडकको कामले सात वर्ष बित्यो तर पूणर्ता पाउन सकेको छैन् ।

यस्तै, सम्राट सिमेन्ट उद्योग सडक, बेलदमार-चाकलीघाट-हाँसिपुर सडक, घोराही-हर्नोक-मुर्कुटी सडक, म.रा.मा लमही-तुलसीपुर रोड (राप्ती राजमार्ग) सडकको काम रोकिएको छ ।

यस्तै, ६ महिनाका काम सक्ने गरी ४१ लाखमा ठेक्का सम्झौता भएको देउखुरी क्षेत्रको भालुबाङ- गढवा जोड्ने दामोदर रोडको काम पनि रोकिएको छ । तुलसीपुर वडा नम्बर ८ शान्तिदिप स्कुलदेखि तुलसीपुर-१० रानीखला सडक (जनसक्रिय मार्ग)को काम पनि अलपत्र परेको छ ।

सडक स्तरोन्नति गर्ने भनिएको राप्ती राजमार्गअन्तर्गत वीरेन्द्र चोकदेखि राम्रीसम्मको सडकको कामले पनि पूणर्ता पाउन सकेको छैन् । सोहि राजमार्गमा पर्ने तुलसीपुर वीरेन्द्र चोक, नौ महिनामा सक्ने गरी ट्राफिक सेप्टीका साथ काम गर्ने भनेको अमिलिया-तुलसीपुर खण्डको काम करिव चार महिना यता अलपत्र बनेको खबर प्रदेश टुडे दैनिकमा हेमराज परिवर्तनले लेख्नुभएको छ

प्रकाशित मिति : २०७९ चैत्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस