२०८१ असोज ४ गते शुक्रवार

लुम्बिनी प्रदेश सरकार संकटमा

दाङ, २१ चैत । लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ । नेकपा माओवादी केन्द्र सहित जसपा र जनमत पाटीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार संकटमा परेको छ ।

प्रदेश सभामा नेपाली कांग्रेससहित सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदहरुले अल्पमतमा परेका मुख्यमन्त्री लिला गिरीको राजीनामा माग गरेका छन् । लुम्बिनीमा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत लगायतका पार्टी मिलेर सरकार बनेको थियो । तर माओवादी केन्द्र जसपा र जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेसका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र दिइसकेका छन् ।

कांग्रेसका सांसद सुधाकर पाण्डेले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्री सरकारमा बस्न नहुने बताउनुभयो । सांसद पाण्डेले अल्पमतमा परेको सरकारले संवैधानिक व्यस्था अनुसार बाटो खुला गर्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपानेले ५३ सांसदले सरकारको समर्थन फिर्ता लिएको अवस्थामा नैतिकताका आधारमा मुख्यमन्त्री गिरीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । उहाले प्रदेशको बजेट ल्याउनुपर्ने भएकाले छिटो भन्दा छिटो सरकारबाट बाहिरिन आग्रह गर्नुभयो ।

कांग्रेसका भुवनेश्वर चौधरी र बैजनाथ कलवारले पनि सरकार अल्पमतमा परेको भन्दै संवैधानिक र नैतिकताका आधारमा मुख्यमन्त्रीले छिटो भन्दा छिटो सरकार छोड्न उपयुक्त हुने बताएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका सांसद राजकुमार चौधरीले अल्पमतको सरकार लम्बिए अस्थिरता सिर्जना हुने बताउनुभयो । जसपाका सांसद भण्डारी लाल अहिरले लुम्बिनी सरकारले नैतिकताका आधारमा नयाँ सरकार गठनको लागि बाटो खुला गर्नुपर्ने बताउनुभयो ।

नेकपा एकीकृत समाजवादी भगवती घिमिरे अधिकारी, लोसपाका सांसद सन्तोषकुमार पाण्डेले पनि नैतिकता माथि प्रश्न उठेको भन्दै सम्मानजनक रुपमा सरकारबाट बहिर्गमन हुनुपर्ने बताएका छन् । प्रदेशसभाको अर्को बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस