२०८१ असोज ४ गते शुक्रवार

दाङमा एक वर्षको अवधिमा १६३ वटा महिला हिंसाका घटना

सांकेतिक तस्वीर

दाङ, १९ चैत । दाङमा एक वर्षको अवधिमा १६३ वटा महिला हिंसा घटना भएका छन् । ओेरेक दाङका अनुसार सन २०२२ मा महिला हिंसा १६३ वटा मुद्धा दर्ता भएको मध्ये सबै भन्दा धेरै ११८ वटा घरेलु हिंसाको मुद्धा अभिलेखिकरण भएको छ ।

महिला माथि हुने विभिन्न किसिमका सामाजिक, बलात्कार, जातिय विभेद, बोक्सीको आरोप, बाल विवाह, दाइजो लगायतका विभिन्न हिंसा भएको ओरेक दाङका कार्यक्रम अधिकृत पूजा चौधरीले जानकारी दिनुभयो ।

ओरेक दाङको ३२ औं स्थापना दिवसको अवसरमा बोल्दै कार्यक्रम अधिकृत चौधरीले एक वर्षको अवधिमा अभिलेखिकरण गरिएको हिंसा सम्बन्धि मुद्धामा जातिगत रुपमा हेर्दा सबै भन्दा धेरै दलित समुदायका महिलाहरु हिंसामा पर्ने गरेका छन् ।

तर दलित बाहेक अन्य जातिका महिलाहरु पनि कुनै न कुनै किसिमको हिंसामा परेको चौधरीले जानकारी दिइन् । उमेरको हिसावमा सबै भन्दा धेरै २० वर्षदेखि २४ वर्ष उमेरका महिलाहरु हिंसामा पर्ने गरेका छन् । तर कममा १४ वर्षदेखि अधिकतम ६५ वर्ष माथि उमेर समुहका महिलाहरु पनि हिंसामा परेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तुलसीपुर उपमहानगरका उपप्रमुख स्यानी चौधरीले हिंसा रहित समाज निर्माणको लागि सबै जनाले हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो । हिंसामुक्त समाज बनाउन उपमहानगरपालिकाले विभिन्न कार्यक्रमहरु ल्याएको बताउँदै उपमेयर चौधरीले महिलाहरु पनि शिक्षित हुन आवस्यक रहेको बताउनुभयो ।

महिलाहरु शिक्षासंगै रोजगारीमा पनि जोडिएमा हिंसा केही हदसम्म कम हुने उहाँको भनाइ छ । त्यसअबसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुशीराम चौधरीले आफुहरु विगत २ वर्षदेखि ओरेक संग सहकार्य गरेर हिंसा न्युनिकरणको लागि काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा फेडो दाङका जिल्ला अध्यक्ष युवा कराराले व्यवस्था परिवर्तन भए पनि सोचे अनुसारको अवस्था परिवर्तन हुन नसकेको भन्दै दुख व्यक्त गर्नुभयो । धेरैजसो आर्थिक रुपमा कमजोर महिलाहरु हिंसामा पर्ने गरेको भन्दै अब महिलाहरु पनि स्वराजगार हुन आवस्यक रहेको बताउनुभयो ॥

प्रकाशित मिति : २०७९ चैत्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस