दाङ, १९ चैत । पशुमा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण दाङमा पनि देखिएको छ । भाइरसबाट सर्ने रोग लम्पी स्किनका कारण जिल्लाका विभिन्न पालिकाका किसान चिन्तित छन् । जिल्लाको बङ्गलाचुली, राप्ती, गढवा, राजपुर गाउँपालिका र घोराही उपमहानगरपालिकाको केही वडामा रोगको सङ्क्रमण देखिएको छ ।
बङ्गलाचुली गाउँपालिकाको वडा नं. ४, ५, ६, ७ र ८ मा बढी मात्रामा देखापरेको छ । रोगका कारण पालिकामा करिब २ सय ५० भन्दा बढी पशुचौपाया बिरामी परेका छन् । रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने र गाईहरूले दूध दिन छोड्ने समस्या देखिएको बङ्गलाचुली गाउँपालिकाका पशु शाखा प्रमुख गोविन्द नेपालीले जानकारी दिए ।
पशु सेवा केन्द्रका विज्ञसँगको समन्वयमा बिरामी पशुको नमुना सङ्कलन गरेर क्षेत्रीय प्रयोगशाला सुर्खेत पठाएकोमा त्यहाँबाट लम्पी स्किन रोग पुष्टि भएको विज्ञ केन्द्रका भेटेरिनरी अधिकृत भरत देवकोटाले जानकारी दिए । उनका अनुसार रोगको थप अनुसन्धानका लागि काठमाडौँ नमुना पठाइएको छ ।
राप्ती गाउँपालिकाको वडा नं. ५, ७, ८ र ९ का विभिन्न बस्तीमा पनि लम्पी स्किन रोगले पशु थलिएका छन् । पालिकामा करिब ३५० भन्दा बढी गाई र गोरू बिरामी परेका पशु सेवा शाखा प्रमुख जीवराज पौडेलले बताए । उनका अनुसार पशु प्राविधिकको टोलीले पालिकाको वडा नं. ५ को करङ्गेकोट, थकरीकोट, वडा नं. ९ को घोसखोला, देवीकोटलगायत स्थानमा एक साताभन्दा बढी समय लगाएर उपचार गरिरहेको छ ।
प्रकोपका कारण गाउँपालिकाको रूपाकोट, घोसखोलालगायत पाँच स्थानमा १० भन्दा बढी पशु मरेका पशु सेवा शाखा प्रमुख पौडेलले बताए । लम्पी स्किनका कारण राजपुर, लमहीलगायत ठाउँमा पनि समस्या बढ्दै गएको छ ।
दाङमा पशुमा समस्या देखिएपछि सुरूमा के रोग हो भन्ने पहिचान गर्न पनि समस्या रहेको उनले बताए । त्यस्तै घोराही उपमहानगरपालिका–१९ का पहाडी क्षेत्रमा पनि लम्पी स्किन रोगका कारण किसान मारमा परेका छन् । त्यसको नियन्त्रणका लागि प्रयास भइरहेको भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय दाङले जनाएको छ ।