
दाङ, १२ चैत । शान्तिनगर गाउँपालिकाले विद्युत नपुगेका वस्तीमा विद्युत विस्तारको योजनालाई तिब्रता दिएको छ ।
गाउँपालिकामा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकालाई उज्यालोयुक्त गाउँपालिका बनाउने योजनाका साथ विद्युत नपुगेका वस्तीमा विद्युत विस्तारको कामलाई तिब्रता दिएको गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिनुभयो ।
गाउँपालिकाको पहाडी भु-भागमा पर्ने तीन वडा वडाका केहि वस्तीमा विद्युत पुगेको छैन् । कणर्ाली प्रदेशको सल्यानसंग सिमाना जोडिएका वडा नम्बर १, २ र ३ नम्बर वडामा विद्युतको पहुँच नपुगेकोले चालुवर्षमा विद्युतीकरणका लागि करिब डेढ करोड बजेटमा काम गर्न लागेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
तीन वटा पहाडी वडामध्ये अहिले वडा नम्बर १ मा काम भइरहेको उहाँले बताउनुभयो । क्रमश सबै वस्तीमा विद्युत विस्तार गरिने उहाँको भनाई छ । गाउँपालिकाको ३५ लाख र विद्युत प्राधिकरणको १ करोड १५ लाख बजेटमा गाउँपालिकामा विद्युतीकरणको योजना विस्तारको काम भइरहेको छ ।