२०८१ चैत्र ६ गते बुधवार

लुम्बिनीमा नयाँ सरकारको कसरत शुरु

दाङ, ९ चैत ।  केन्द्र सरकारमा फेरिएको सत्ता समीकरणको असर प्रदेश सरकारमा पनि देखिन थालेको छ ।

राष्ट्रपति निर्वाचनसँगै केन्द्रमा फेरिएको नयाँ सत्ता समीकरणकै कारण लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएपछि लुम्बिनीमा एमालेको सरकार ढल्ने निश्चित भएको छ ।

तर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिदै नयाँ सरकार गठनको गृहकार्य भने भइरहेको छ ।

प्रदेशमा नयाँ गठबन्धनको सरकार बनाउनका लागि आज समर्थन फिर्ता लिने माओवादी केन्द्रको तयारी छ ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले केन्दमा हिजो फरक गठबन्धन भएको हुँदा लिला गिरीलाई मुख्यमन्त्रीमा आफुहरुले समर्थन गरेको तर अहिले फराक ढंगको गठबन्धन बनेकाले आफुहरुले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिन लागेको बताए ।

बिहीबार संसदीय दलको बैठक बसेर प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने उनले बताए । प्रदेश सरकारमा पनि नयाँ गठबन्धनको सरकार बन्ने उनको भनाई छ ।

८७ सदस्यीय प्रदेश सभामा ५८ सांसदको समर्थनमा गएको पुस २७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लिला गिरी नियुक्त भएका थिए भने माघ ५ गते गिरीले विश्वासको मत पाएका थिए । अहिले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलहरुको गठबन्धन बनेपछि गठबन्धनको पक्षमा ५४ र मुख्यमन्त्री गिरीको समर्थनमा ३३ सांसद मात्र हुनेछन् ।

सरकार बनाउन ४४ सांसदको समर्थन चाहिन्छ । तर मुख्यमन्त्री लिला गिरी भने लुम्बिनी प्रदेशमा फेरी आफु नै मुख्यमन्त्री बन्ने ठोकुवा गर्छन् । ‘माओवादीले समर्थन फिर्ता लिएपनि म नै मुख्यमन्त्री हुन्छु, कांग्रेस र माओवादीको जोड्दा बहुमत पुग्दैन त्यसकारण अन्य दललाई समेटेर म नै मुख्यमन्त्री हुन्छु उनले भन’े ।

अहिलेको सरकार ढलेमा नेपाली कांग्रेस र नेकपा माओवादीले आलोपालेको सरकार चलाउने चर्चा चल्न थालेको छ । तर, प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्ने निश्चित भएसँगै नेपाली कांग्रेसले मुख्यमन्त्रीको दावी गरेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमर पुनले प्रदेश सरकारमा कांग्रेसको दावी स्वभाविक रहेको बताए ।

पहिले पनि प्रदेशको मुख्यमन्त्रीमा माओवादी र कांग्रेसले आलोपालो गर्ने सहमती भएपनि आफुहरुले माओवादीलाई नै मुख्यमन्त्री दिएको बताउँदै अध्यक्ष पुनले यो पटक कांग्रेसले मुख्यमन्त्री पाउनु पर्ने बताए । आलोपालो गर्ने सहमति भएपनि पहिलो प्राथमिकतामा कांग्रेस मुख्यमन्त्री पाउनु पर्ने उनले बताए । संसदीय दलको नेता जो छ त्यही व्यक्ति नै मुख्यमन्त्री हुने बताउँदै अध्यक्ष पुनले कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री डिल्ली बहादुर चौधरी हुने बताए ।

प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस