२०८१ असोज ४ गते शुक्रवार

दाङका मूख्य बजारमै बल्दैनन् सडक बत्ती

दाङ, ९ चैत । तुलसीपुर बजार पश्चिम दाङ लगायतका पहाडी जिल्लाको व्यापारिक केन्द्र हो ।

तुलसीपुर व्यापारिक केन्द्र भएता पनि मुख्य बजारमा सडक बत्ती नहुँदा व्यवसायीहरू साँझमै पसल बन्द गर्न बाध्य भएका हुन् । बजारमा भएका केही सीसी क्यामराहरू पनि रातको समय काम गर्दैनन् । तुलसीपुर बजारका साैर्य सडक बत्ती छन् , तर बल्दैनन् ।

जसका कारण व्यवसायी मात्र नभई आम नागरिकहरूले समेत समस्या परेका छन् । एकातिर बत्ती नहुँदा र अर्को तर्फ क्यामेराले रातिमा काम नगर्दा सुरक्षा चुनौती रहेको छ । रातिकाे समयमा बल्नु पर्ने बत्ती नबलेपछि व्यवसायीहरूलाई मात्र नभई पैदल यात्रुहरूले सास्ती भोग्ने गरेका छन् । घाम डुबेसँगै यहाँका व्यवसायीहरूले पसल बन्द गर्नुपर्ने अवस्था रहेको व्यापारी घनश्याम डाँगी बताउँनुहुन्छ।

उपमहानगरलाई व्यवसायीहरूले वार्षिक रुपमा कर तिर्दै आएको भएता पनि कुनै पनि राम्रो सेवा सुविधा नभएको व्यापारीहरूको भनाइ छ । सडक बत्ती नहुँदा नागरिकहरू रातको समयमा बजारमा हिड्न समस्या भएकाे छ । जसकाे प्रत्यक्ष असर व्यवसायमा परेको तुलसीपुरका व्यापारी अमरराज लामिछानेकाे भनाइ छ।

विभिन्न समयमा बजारमा चोरीका घटनाहरू बढ्दै जानु र एकातिर सडकमा बत्तीहरू नहुँदा समस्या भइरहेको छ । बजारमा प्रयाप्त मात्रामा सीसी क्यामेराहरू नहुँदा बजार असुरक्षित रहेको तुलसीपुरका व्यापारी बिमल गौतम बताउँनुहुन्छ । तुलसीपुरका विभिन्न स्थानमा १ सय २५ वटा साैर्य बत्ती जडान गरिएको छ । ३ पटक गरेर साैर्य बत्ती जडान गरिएको हो ।

पहिलो पटक ३५ वटा बत्ती जडान गरिएको हो । जसमा ३६ लाख ३६ हजार लगानी लागेको थियो । त्यस्तै, दोस्रो पटक ७० लाख बजेट र १० प्रतिशत स्थानीयको सहभागितामा सडक बत्ती जडान गरिएको हो । सौर्य बत्तीहरू वातावरणीय प्रदूषण लगायतका विभिन्न कारणले बल्न छाडेको तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन कुमार योगीकाे तर्क छ ।

यता जनप्रतिनिधिहरूले भने तत्कालीन नगरपालिका हुँदा सौर्य बत्तीको सम्झौता भएको र आफूहरू आएपछि एक पटक ठेकेदारलाई बोलाएर मर्मत गरेको भएता पनि त्यसपछि ठेकेदार सम्पर्कमा नआएको र आफूहरूले टोल टोलमा विद्युतीय बत्तीको व्यवस्था गरिदिएको गर्दै आएका छन् । बजेट नहुँदा र समय बजेट नआउँदा बजार क्षेत्रमा काम गर्न समस्या तुलसीपुर-५ का वडाध्यक्ष वीरेन्द्र कुमार शाहकाे भनाइ छ ।

सुरक्षाको दृष्टिले तुलसीपुर भयावह स्थिति नभएता पनि तुलसीपुरलाई सुरक्षित बनाउन अब डिजिटल प्रविधिमा जानु पर्ने प्रहरीको तर्क छ । तुलसीपुर बजारमा १८ क्यामेरा र स्थानीय तहसँग पनि नयाँ रातको समय खिच्न मिल्ने सीसी क्यामेराको लागि कुरा भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले बताउनुभयाे ।

प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस