२०८० असोज ११ गते बिहिवार

अति विपन्न परिवारलाई खानेपानी धारा जडानमा तुलसीपुर-९ को ५० प्रतिशत अनुदान

तुलसीपुर, ८ चैत   । तुलसीपुर उपमहानगरपालिका ९ ले अतिविपन्न परिवारलाई खानेपानी धारा जडानमा ५० प्रतिशत सहयोग गर्ने भएको छ । मंगलबार वडा कार्यालय र अमृतपुर खानेपानी संस्था बिच भएको सम्झौतामा भएको हो ।

वडाका अतिविपन्न करिव ५० घरपरिवारलाई धारा जडान गर्नको लागि खानेपानी संस्थासँग सम्झौता गरिएको वडा सचिव यमनारायण सापकोटाले बताए । उनका अनुसार अहिले वडा कार्यालयले खानेपानी संस्थालाई साढे २ लाख रुपैयाँ दिएको छ । बाँकी पैसा अर्को आर्थिक वर्षमा दिने गरी धारा जडानको काम गरिने उनको भनाइ छ ।

यस्तै नेपाल सरकारको एक घर एक धारा अवधारण अनुसार वडा कार्यालयले पनि वडामा आर्थिक अभावका कारण खानेपानीबाट बञ्चित भएका परिवारका लागि वडाको निःशुल्क खानेपानी कार्यक्रम अन्तर्गत यस कार्यक्रम शुरु भएको वडाध्यक्ष घनश्याम ढकालले बताए । यस कार्यक्रमका लागि वडाले निर्णय गरेर नगरसभाले पारित गरि रातोमा सम्बोधन भएको विनियोजित बजेटबाट नै काम शुरु गरिएको पनि उनको भनाइ छ ।

यस्तै उनले खानेपानीको लागि वडामा माग धेरै भएको हुँदा त्यस बजेटले पनि प्राप्त नहुने भएकाले खानेपानीसँग सम्झौता गरेर अहिले भएको रकम खानेपानीलाई उपलब्ध गराउने र बाँकी नपुगेको रकम अर्का आर्थिक वर्षमा दिनेगरी काम गर्ने समेत बताए । उनका अनुसार खानेपानी जडानको लागि २४ हजार ४४० शुल्क लाग्ने भएयता पनि वडा कार्यालयले ५० प्रतिशत अर्थात् १२ हजार २२० दिने र अरु खर्च स्वयम् ब्यक्तिले बेहोर्नु पर्ने छ ।

यस्तै धारा जडानको लागि टोल विकास संस्थाले ब्यक्तिहरूलाई पठाएको सिफारिस अनुसार नै हुने पनि उनको भनाइ छ । यस्तै वडा कार्यालयले खानेपानी मात्र नभइ विद्युत् निःशुल्क जडान गरिदिने समेत उनले बताए । उनले भने,‘ खानेपानीमा हामीले ५० प्रतिशत सहयोग गरेका छौँ । तर, विद्युत जडानको लागि पुरै पैसा दिएर जडान गरिदिन्छौँ । आर्थिक अभावका कारण अन्धकारमा बस्न बाध्य भएका परिवारहरूलाई निवेदन अनुसार यो कार्य पनि शुरु गरेका छौँ । विद्युत जडानको लागि ३५ सय मात्र लाग्ने रहेछ ।

जसले गर्दा पुरै खर्च वडाले बेहोरेर काम गर्न शुरु गरेको हो ।’ स्थानीय तहमा जनप्रतिनिधिहरू आइसकेपछि आम नागरिकहरूलाई स्थानीय सरकारको महसुस होस्, भन्ने उद्देश्यले यो कार्य गरिएको पनि उनले बताए । अमृतपुर खानेपानीका सचिव दशरथ वलीले एक घर एक धारा अवधारणा अनुसार अतिविपन्न परिवारहरूलाई खानेपानीको पहुँच पु¥याउने उद्देश्यले ५० प्रतिशत खर्च दिने कार्य एकदमै राम्रो कार्य भएको बताए । अहिले वडा कार्यालयले उपलब्ध गराएको पैसाले तत्काल २४ घरपरिवारमा धारा जडान हुने समेत उनले बताए । यस्तै बाँकी धारा जडानमा सम्झौता अनुसार काम हुने पनि उनको भनाइ छ । अमृतपुर खानेपानीले अहिले तुलसीपुरका ३ वटा वडाका नागरिकहरूलाई पानी खुवाउँदै आएको खानेपानीका सचिव वलीले बताए । अहिले ३ हजार ३६५ खानेपानीका धाराहरू जडान भएको पनि उनले बताए । उनका अनुसार तुलसीपुर ३, ८ र ९ वडामा संस्थाले खानेपानी २८ हजार जनसङ्ख्यालाई खुवाउँदै आएको छ ।

यस्तै खानेपानी संस्थाले पनि अतिविपन्न तथा ५ युनिट पानी प्रयोग गर्ने सेवाग्राहीहरूलाई ३० प्रतिशत छुट दिएको पनि उनले बताए । यस्तै खानेपानी संस्थाले दिने सहुलियतमा संस्था अगाडि बढ्दै गएमा अझै दिने पनि उनको भनाइ छ । यस्तै खानेपानीमा भर्खरै संघीय विभाग नेपालगञ्जले फिल्टर टयाङ्की निर्माणको लागि साढे ४ करोड टेन्डर आह्वान गरेको पनि उनले बताए । त्यो निर्माण भएपनि सेवाग्राहीलाई अझै स्वच्छ पानी खुवाउँने समेत उनको भनाइ छ । यस्तै खानेपानी संस्थामा सह लगानीको कार्यक्रम पनि अगाडि बढेको उनले बताए ।

यस्तै वडा कार्यालयको ५० प्रतिशत सहयोगमा धारा जडान गर्न पाउने भएपनि नागरिकहरू पनि खुशी भएका छन् । तुलसीपुर ९ मैना बगरका कृष्ण बहादुर थापाले वडा कार्यालयले धारा जडानको लागि आधा पैसा व्यर्होने भएपनि आफू धेरै खुशी भएको बताए । उनले भने,‘ घरमा धारा जडान गर्नको लागि २४ हजार भन्दा बढि खर्च लाग्छ । हामी जस्तो दैनिक ज्याला मजदुर गर्नेले एकै पटक त्यति धेरै पैसा कहाँबाट ल्याउनु । वडा कार्यालयले आधा पैसा ब्यर्होने भएपछि अब धारा जडान गर्न सहज हुने भयो धेरै खुशी लागेको छ । ’ 

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस