दाङ, ७ चैत । आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मार्च २१ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ ।
संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरे पनि नेपालले भने यो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो ।
दिवस भने सन् १९६६ देखि मनाउन थालिएको हो । जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् ।
२०६२ र ६३ सालको जनआन्दोलन पछि पुनस्थापित संसद्ले २०६३ साल जेष्ठ १६ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर अहिले पनि छुवाछुतका घटना हुने गरेका छन् ।
यसैबिच तुलसीपुर उपमहानगरपालिकाले पनि आज दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नगरमा बिहान ११ बजेपछि कार्यक्रम शुरु हुने महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।