दाङ-सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९% अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये १०% अर्थात ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
यस्तै, कम्पनीले ५% अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३% अर्थात १ लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । यसमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ ।