२०८१ असोज ४ गते शुक्रवार

घोराहीको विकास खर्च ८ प्रतिशत भन्दा कम

दाङ , २६ फागुन । घोराही उपमहानगरपालिकाले ६ महिनाको अवधिमा आठ प्रतिशत पनि पुँजीगत बजेट खर्च गर्न सकेको छैन । उप महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा ७.५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो । घोराहीमा चालू आर्थिक वर्षमा कुल एक अर्ब सात करोड ४५ लाख ९ हजार ५ सय बजेट रहेकोमा पुस समान्तसम्ममा जम्मा ८० करोड ५ लाख ६९ हजार ४ सय १९ रुपैयाँ खर्च भएको छ ।

जुन ७.५ प्रतिशत रहेको घोराही उपमहानगरपालिकाले वेब साइटमा सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो चौमासिक प्रतिवेदनमा उल्लेख गरिएको छ । ६ महिनाको अवधिमा भएको पुँजीगत खर्चले विकास निर्माणको कामले गति लिन नसकेको देखाएको छ । आर्थिक वर्षको सुरुआतमा विकासका काम नहुने तर आर्थिक वर्षको अन्त्यमा आएर विकासका काम हुने प्रवृत्ति विगत लामो समयदेखि नै छ ।

यसबाट उपमहानगरपालिका पनि अछुतो छैन । जनप्रतिनिधिहरू आएपछि यसको सुधार हुने अपेक्षा गरिए पनि यस प्रकारको संस्कार परिवर्तन हुन सकेको छैन । चालूतर्फ ६ महिनाको अवधिमा ४१.७२ प्रतिशत बजेट खर्च भएको छ । चालू आर्थिक वर्षमा चालूतर्फ एक अर्ब २७ करोड ३० लाख ६९ हजार ५ सय बजेट रहेको थियो । जसमा पुस मसान्तसम्ममा ५३ करोड ११ लाख ४९ हजार ७ सय २३ रुपैयाँ खर्च भएको छ ।

जुन खर्च ४१.७२ प्रतिशत हो । उप महानगरपालिकाको कुल बजेट २ अर्ब ३४ करोड ७५ लाख ७९ हजार रहेको थियो । जसमा पुस मसान्तसम्मा ६१ करोड १७ लाख १९ हजार १ सय ४२ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जुन खर्च २६.०५ प्रतिशत हो । उप महानगरपालिका अन्तर्गतका कार्यक्रममा एक अर्ब ५३ करोड ४८ लाख ९१ हजार बजेट रहेकोमा ६ महिनाको अवधिमा २८ करोड ३५ लाख १ हजार १ सय ७१ रुपैयाँ खर्च गरेको छ ।

जुन खर्च १८.४७ प्रतिशत हो । चालूतर्फ ६१ करोड ७० लाख ८१ हजार ५ सय बजेट रहेकोमा पुस मसान्तसम्ममा २१ करोड ३ लाख ४६ हजार ७४ रुपैयाँ खर्च गरेको छ । जुन खर्च ३४.०९ प्रतिशत हो । पुँजीगततर्फ ९१ करोड ७८ लाख ९ हजार ५ सय रुपैयाँ बजेट रहेकोमा सात करोड ३१ लाख ५५ हजार, ९६ रुपैयाँ खर्च भएको छ । जुन खर्च ७.९७ प्रतिशत हो ।

संघीय सरकारबाट हस्तान्तरित कार्यक्रमअन्तर्गत ७५ करोड एक लाख ८८ हजार बजेट रहेकोमा पुस समान्तसम्म ३२ करोड ८२ लाख १७ हजार ९ सय ७१ रुपैया खर्च भएको छ । जुन ४३.७५ प्रतिशत हो । जसमा चालूतर्फ ६४ करोड ७१ लाख ८८ हजार बजेटमध्ये ३२ करोड ८ लाख ३ हजार ६ सय ४८ रुपैयाँ खर्च भएको छ ।

जुन खर्च ४९.५७ प्रतिशत हो । पुँजीगततर्फ १० करोड ३० लाख बजेटमध्ये ७४ लाख १४ हजार ३ सय २३ रुपैयाँ खर्च भएको छ । जुन खर्च ७.२ प्रतिशत हो । प्रदेश सरकारअन्तर्गत ६ करोड २५ लाख बजेट भएकोमा पुस मसान्तसम्म खर्च शून्य रहेको उपमहानगरपालिकाको दोस्रो चौमासिक प्रतिवेदनमा छ । जसमा चालूतर्फ ८८ लाख बजेट छ भने पुँजीगततर्फ पाँच करोड ३७ लाख बजेट छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस