
तुलसीपुर, २१ फागुन ।
घोराही–तुलसीपुर सडकमा यातायातका सवारी साधन आज आधा घण्टा बन्द हुने भएको छ । अलपत्र सडक निर्माणका लागि दवावस्वरुप नेपाल कम्युनिष्ट पाटी तुलसीपुर नगर समितिले आज आधा घण्टा सवारी साधन बन्द गर्ने भएको हो ।
नगर इन्चार्ज भुवन सीले सडक निर्माणको लागि दवावस्वरुप बिहान ११ बजेदेखि साढे ११ बजेसम्म घोराही–तुलसीपुर सडक बन्द गरिने बताउनुभयो । आधा घण्टा सडक बन्दलाई सफल बनाउन उहाँले आम यातायात व्यवसायी, यात्रु लगायत सबैमा अनुरोध गर्नुभएको छ ।
घोराही–तुलसीपुर सडक अन्तगर्त तुलसीपुरको हात्तिखौवा चोकमा सडक बन्दका लागि बिहान ११ बजे उपस्थिति हुन उहाँले सबैमा अनुरोध गर्नुभएको छ । सडक लामोसमयदेखि अलपत्र हुँदा सवारी दुर्घटनाको जोखिम र धुलोले सास्ती दिँदा नागरिकले पनि विभिन्न समयमा दवावस्वरुप आन्दोलनका कार्यक्रम गर्ने गरेका छन् ।
प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार