२०८२ बैशाख १० गते बुधवार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा विभिन्न कार्यक्रम गरिने


दाङ, १५ फागुन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दाङको तुलसीपुरमा श्रमिक महिलालाई सम्मान गरिने भएको छ ।

फागुन २४ गते अर्थात मार्च ८ तारिखका दिन मनाईने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा तुलसीपुरमा श्रमिक महिलालाई सम्मानदेखि ग्रामिण क्षेत्रमा पुगेर महिला अधिकारबारे सचेतना प्रदान गरिने भएको हो ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा आज सरोकारवालासंग भएको अन्तरक्रियामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई विभिन्न कार्यक्रम गरी मनाउने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।

तुलसीपुर उपमहानगरपालिका नगर उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा भएको अन्तरक्रियामा सरोकारवालाले लक्षित वर्गसम्मै पुग्ने गरी कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले दिवसको अवसरमा गरिने कार्यक्रम सहरभन्दा पनि ग्रामिण केन्द्रित हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा निवर्तमान जनप्रतिनिधि नवराज लामिछाने, महिला अधिकारकर्मी शुष्मा गिरी, सामाजिक अभियान्ता युवा करारा, विभिन्न संघ-संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतले मार्च ८ मा मनाईने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सफल बनाउन सबैको भूमिका महत्वपूणर् हुने बताउनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले नगरले श्रमिक महिलाको सम्मानसहित, मिडियासंगको अन्तरक्रिया, ओरेक संगको सहकार्यमा प्रविधिमा महिलाको पहुँच विषयक लगायतका कार्यक्रम गरिने बताउनुभयो ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यहि फागुन २४ गते ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको नारा ‘लैंगिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार’ रहेको छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस