२०८१ असोज ४ गते शुक्रवार

दाङमा ३५ प्रतिशत बढीले खाए, हात्तिपाईले रोग विरुद्धको औषधि

दाङ, १४ फागुन ।
दाङमा आज चौथो दिन पनि हात्तिपाईले रोग विरुद्धको औषधि सेवन अभियान चलिरहेको छ । जिल्लामा शनिबार (हिजो)सम्म २ लाख ४३ हजार बढीले औषधि सेवन गरेका छन् ।

स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार दश वटै पालिकामा तीन दिनको अवधिमा २ लाख ४३ हजार ८५३ जनाले हात्तिपाईले रोग विरुद्धको औषधि सेवन गरेका छन् ।

दाङमा गत बिहिबारदेखि औषधि सेवन अभियान शुरु भएको हो । शुरुको दिनमा जिल्लामा ९६ हजार १४१, दोस्रो दिनमा ८९ हजार ८५ र तेस्रो दिन हिजो ५८ हजार ६२७ जनाले औषधि सेवन गरेका छन् । जिल्लामा अहिले १३ औँ चरणमा औषधि सेवन अभियान चलिरहेको छ ।

यसअघि १२ औँ पटकसम्म आम नागरिकले औषधि सेवन नगर्दा हात्तिपाइले रोग निवारण हुन नसकेको हो । गतवर्षको तुलनामा यसवर्ष औषधि सेवनमा उत्साहजनक सहभागीता रहेको छ । जिल्लामा अहिले ६ लाख ८७ हजार ७७६ जनालाई औषधि सेवन गराउने लक्ष्य रहेको छ ।

अहिलेसम्म ३५ दशमलव ४५ प्रतिशत नागरिकले औषधि सेवन गरेका छन् । ८० प्रतिशतभन्दा बढीले औषधि सेवन गरेपछि रोग निवारण हुने स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर कुँवरले बताउनुभयो ।

उहाँले आम नागरिकलाई औषधि सेवन गर्न आग्रह गर्नुभएको छ । हात्तिपाईले रोग लागिसकेपछि निको नहुने भएकाले पनि रोग नलाग्दै औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाई छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस