दाङ, ९ फागुन ।
विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिलाको उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि तुलसीपुर उपमहानगरपालिपका वडा नम्बर १९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो ।
विगतका वर्षमा पाँच सय क्विन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा पछिल्लो दुई वर्षमा उत्पादन घटेको स्थानीयले बताएका छन् । विगतमा पाँच सय क्विन्टल उत्पादन हुने गरेको भए पनि यस वर्ष करिब ५० क्विन्टल मात्रै उत्पादन भएको स्थानीय प्रवीर पुनले बताउनुभयो ।
सुगन्धकोकिला प्रतिकिलो पाँचसय रुपैयाँमा बिक्री हुँदै आएको छ । एउटा रुखले दुईसय किलोसम्म सुगन्धकोकिला उत्पादन हुने गरेपनि यस वर्ष भने बर्सातले आम्दानी घटेको कृषक कृष्ण रेउलेले बताउुनभयो । विगतमा एउटै रुखबाट ४० हजारदेखि दुई लाखसम्म आम्दानी हुने गरेको थियो ।
छिल्लीकोटका दश गाउँका एक सय ३५ घरले नै सुगन्धकोकिलाबाट आश्रित छन् । प्रत्येकको घरमा दशभन्दा बढी सुगन्धकोकिलाका रुख छन् भने सामुदायिक वनमा पनि सुगन्धकोकिलाका रुखहरु छन् । सामुदायिक वनमा रहेको सुगन्धकोकिलालाई गाउँलेले सामूहिक आम्दानी लिने गरेको कृषक प्रवीरले बताउनुभयो ।