२०८० फाल्गुन २१ गते सोमवार

अलपत्र सडक सुधारको मागसहित सडक डिभिजनको कार्यालय दाङमा घेराउ

दाङ, ८ फागुन ।
दाङमा अलपत्र सडक सुधारको मागसहित सडक डिभिजन कार्यालय दाङमा स्थानीयले तालाबन्दी गरेका छन् । घोराहीका स्थानीयले बिहान साढे नौ बजेदेखि धर्ना दिएर तालाबन्दी गरेका हुन् ।

घोराही-लमही तथा घोराही-तुलसीपुर सडक लामो समयदेखि अलपत्र छ । सडक निर्माणमा ढिलाई हुँदा धुलो-धुवाँले सास्ती दिएको र दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले तत्काल सडक सुधारको मागसहित सडक डिभिजनको कार्यालय घेराउ गरेका हुन् ।

सडकका कारण धुलो धुवाँले स्वास्थ्यमा गम्भिर असर गरेको र दुर्घटनाको जोखिम बढेकाले निर्माणमा ताकेताका लागि सडक डिभिजन कार्यालयमा सोमबार (आज) बिहान साढे नौ बजेदेखि धर्ना दिएर तालाबन्दी गरेको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिं बुढाथोकीले बताउनुभयो ।

ऋाज बिहान कार्यालय समयमा कर्मचारीलाई रोक लगाएर एक घण्टासम्म तालाबन्दी गरिएको हो । सडक डिभिजन प्रमुख रामपुकार जैशवालले निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याउने सहमती जनाएपछि ताला खोलिएको छ । कार्यालय प्रमुख जैशवालले निर्माण व्यवसायीलाई तत्काल सम्पर्कमा ल्याउन आग्रह गरिएको दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले बताउनुभयो ।

सडक निर्माण तत्काल गर्न मागसहित कार्यालयमा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, दाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायण भुषाल लगायत स्थानीय सहभागी हुनुभएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस