दाङ, ३ फागुन ।
लुम्बिनी प्रदेश सरकारले आज पाँचौ स्थापना दिवस मनाउने भएको छ । प्रदेश सरकारले आज दिउँसो राप्ती उपत्यका देउखुरीमा औपचारिक समारोहको आयोजना गरेर दिवस मनाउन थालेको हो ।
स्थापना दिवसलाई भव्य बनाउने निणर्य गरेको सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।
मुख्यमन्त्री लीला गिरीले अवको पाँच बर्ष जनताको जिविकोपार्जन बढाउन प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।
२०७४ साल फागुन ३ गते लुम्बिनीमा पहिलो पटक सरकार गठन भएको थियो । यो पाँच वर्षको अवधिमा प्रदेशमा तीनवटा सरकार बनेका छन् । मुख्यमन्त्री लीला गिरीले प्रदेशमा १० मन्त्रालय बनाउनुभएको छ ।
२०७८ साउन २७ गते शंकर पोखरेल नेतृत्वको सरकार विस्थापन गरी कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै लुम्बिनीमा मन्त्रालयको संख्या बढाइएको थियो । २०७४ को निर्वाचनपछि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैँसँग राखेर पाँचवटा मन्त्रीसहितको मन्त्रिपरिषद् बनाउनुभयो ।
पछि राजनीतिक उत्तारचढावसँगै नौ मन्त्रालय र एक राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिमण्डल बनेको थियो । नेकपा माओवादीका केसी मुख्यमन्त्री भएपछि भागबन्डा पुर्याउन नौबाट मन्त्रालयको संख्या बढाएर १३ र चार राज्यमन्त्री गरेर १७ सदस्यीय जम्बो मन्त्रिमण्डल बनेको थियो ।