दाङ, २८ माघ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको व्याजदर वृद्धि हुनुमा आफ्नो कुनै भूमिका नहुने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको २८ औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले उद्योगी व्यवसायीको नेतृत्वकै कारण बैंकको व्याजदर घटबढ हुने रहेको धेरैको बुझाई रहेको बताउनुभयो ।
नीजि क्षेत्रको नेतृत्व गरेको हुँदा आफु सधैँ नीजि क्षेत्रकै हक हितका लागि लागिरहेको उहाँले बताउनुभयो । निजि क्षेत्रको ठुलो लगानी रहेको बैंकिङ क्षेत्रले ब्याजदर बढाउदाँ आम उद्योगी व्यवसायीहरु मारमा परेको पनि उहाँले बताउनुभयो । उहाँले आफु बैंकको अध्यक्ष भएकै कारण व्याजदर घटबढ गर्नमा भूमिका खेलेको धेरैले आरोप लगाउने गरेका तर त्यो गलत बुझाई रहेको बताउनुभयो ।
कार्यक्रममा उहाँले दाङ सम्भावना बोकेको ठाउँ भएको बताउँदै स्थानीयस्तरमा कृषि, पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न आम व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले दाङको टरिगाउँ एयरपोर्टको विस्तार गर्न नसक्दा नेपालगञ्ज मार्फत तुलसीपुर आउनुपरेको र कार्यक्रम नसकेर जानुपर्ने बाध्यता भएको बताउँदै ७२ सिटे जहाज बसाउनका लागि आवश्यक पहल गर्ने विश्वास समेत दिलाउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासघं लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले व्यवसाय गरिराखेका व्यवसायीहरुलाई विस्थापित हुन नदिन आफुले राष्ट्र बैंकको गर्भनरसगं भेटेर छलफल गरेको बताउनुभयो । मुलुकको अर्थतन्त्रलाई बचाउन सरकार गम्भिर हुनुपर्ने उहाँको भनाई छ ।
तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष राम प्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले भएरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न सुरक्षा ब्यबस्था कायम गर्ने बताउनुभयो । त्यस्तै आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख टीकाराम चौलागाईंले देशको विकासमा निजि क्षेत्रको योगदान महत्वपूणर् रहेको बताउनुभयो ।
त्यस अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङका अध्यक्ष नवीन कुमार पोख्रेल, राप्ती बबई क्याम्पसका अध्यक्ष बिष्णुकुमार देबकोटा, नेपाली काग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, नेकपा एमालेका नगर अध्यक्ष माधब वली, जनता समाजबादी पार्टीका टोप बहादुर महतरा लगाएतले राज्य व्यवस्थामा देखिएको संकटका कारण दिन- प्रतिदिन साना तथा ठुला व्यवसायहरु अस्तव्यस्त अवस्थामा रहेको बताउनुभयो ।
त्यस अवसरमा तुलसीपुको बसपार्क क्षेत्रमा सरसफाई गर्दै आउनुभएका सरसफाई अभियान्ता निम बहादुर बुढाथोकीलाई सम्मान गरेको छ । त्यस्तै राप्ती बबई क्याम्पस तुलसीपुरमा व्यवस्थापनतर्फ प्लटुमा उत्कृष्ट हुने छात्र/छात्रा र बिबिएस तर्फ उत्कृष्ट छात्र/छात्राहरु नगद सहित सम्मान एवं पुरस्कृत गरिएको छ । कार्यक्रममा सघंका बरिस्ठ उपाध्यक्ष मिनराज भण्डारीले धन्यावाद ज्ञापन गर्नुभएको हो भने सहजीकरण महासचिव बिनिल केसीले गर्नुभएको हो ।