दाङ, ७ माघ । राप्ती राजमार्ग स्तरोन्नतिका लागि सरकारले पटक-पटक बजेट विनियोजन गरे पनि मर्मत-सम्भार हुन सकेको छैन । आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब रुपैयाँ सडक सुधारका लागि विनियोजन भए पनि ठेक्का नै नखोली फ्रिज भएको थियो ।
चालू आर्थिक वर्षमा सल्यानको चोर खोलादेखि रुकुमको खौलासम्म ४० करोड बजेटमा १८ वटा ठेक्का लागेका छन् । तर अधिकांश ठेक्का अलपत्र अवस्थामा रहेका छन् । पाँचवटा ठेकेदारले मात्र काम गरिरहेका छन् । ठुल्ठूला खाल्डाखुल्डी, बर्षामा हिलो रधुलोले सडक नदेखिँदा दुर्घटनाको जोखिमसमेत बढाएको छ ।
सडक डिभिजन कार्यालय दाङबाट करिब ४० करोड बजेट विनियोजन गरेर सल्यान चोर खोलादेखि रुकुम खौलासम्म ८८.४ किलोमिटर सडकमा खण्ड-खण्डमा बाँडिएर पुरानो दुईसहित १८ वटा ठेक्का लागेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।
तर सानो ठेक्कामा पनि ठेकेदार कम्पनीले विभिन्न बहाना गरेर काम सुरु गर्न नसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एउटै कम्पनीले तीनदेखि चार ठाउँसम्ममा ठेक्काको जिम्मा लिएका कारण पनि काम अलपत्र हुने गरेको हो ।
कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी रिकेश महर्जनले ठेकेदारलाई पटक-पटक ताकेता गर्दा पनि काम गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार कार्यालयले काम नगर्ने ठेकेदारलाई मौखिक र लिखित रूपमा चिठ्ठी काटेको र पत्रपत्रिकामा सूचना निकालेको छ ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सडकको तत्कालै मर्मत-सम्भार र स्तरोन्नति गर्न भन्दै पटक-पटक छलफल र निणर्यसमेत हुने गरेकोे भए पनि कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।
उहाँका अनुसार ठेकेदारले काम गर्छौं भन्ने जवाफ दिने गरे पनि काम हुन सकेको छैन । सांसद प्रकाश ज्वालाले राप्ती राजमार्ग तीन जिल्ला रुकुम, सल्यान र रोल्पाको जनताका लागि मुख्य सडक भएकाले छिटो छरितो र गुणस्तरीय बनाउन चासो दिएको बताउनुभयो ।